राजन कुमार बानिया । पर्सा, १० पुस । पर्साको धोबिनी गाउँपालिका वडा नं. २ स्थित प्राथमिक स्वास्थ्य केन्द्र भिखमपुरमा बिहीबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

धोबिनी गाउँपालिकाको आयोजनामा तथा नारायणी आँखा अस्पताल, वीरगञ्जको प्राविधिक सहयोगमा सम्पन्न शिविरको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले आफ्नै आँखा परीक्षण गराई गर्नुभएको थियो। निःशुल्क आँखा शिविरमा १८० जनाले आँखा परीक्षण गराएका थिए भने ३९ जनामा मोतियाबिन्दु रोग फेला परेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख जितेन्द्र चौहानले जानकारी दिनुभएको छ।

उद्घाटन कार्यक्रममा वडा अध्यक्षहरू देबेन्द्र पटेल र मनौवर अहमद, अबास मियाँ, बन्दु साह तेली, शिक्षा शाखा प्रमुख जितेन्द्र चौहान, स्वास्थ्य केन्द्र प्रमुख संजय यादव, नारायण सुन्दर मण्डल, डा. दीपक राज बिष्ट, धिरज कुमार साह, किशोर यादव, रामप्रसाद यादव लगायत जनप्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो।

शिविरमार्फत स्थानीय बासिन्दाहरूलाई ठूलो सहयोग पुगेको आयोजकको भनाइ छ। विशेषगरी ग्रामीण क्षेत्रका नागरिकहरूलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको सहभागीहरूले बताएका छन्। शिविरका क्रममा निःशुल्क औषधि वितरण समेत गरिएको थियो।

आँखा परीक्षणका क्रममा पहिचान भएका मोतियाबिन्दुका बिरामीहरूको नारायणी आँखा अस्पताल, वीरगञ्जमा निःशुल्क शल्यक्रिया (अपरेसन) गरिने आयोजक संस्थाले जनाएको छ। यस प्रकारका स्वास्थ्य शिविरले जनचेतना अभिवृद्धि गर्नुका साथै समुदायको स्वास्थ्य सुधारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।