काठमाडौँ,११ पुष । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकताका लागि तयार भएका छन्। रास्वपा सभापति रवि लामिछानेसँग दुई चरणमा भएको एक्लाएक्लै छलफलपछि दुवै नेता एउटै राजनीतिक धारमा उभिन सहमत भएको स्रोतले जनाएको छ।

विश्वस्त स्रोतका अनुसार सहमतिका अन्तिम प्राविधिक पक्ष टुंग्याउन दुवै पक्षका नेताहरू आन्तरिक गृहकार्यमा जुटेका छन्। सहमतिअनुसार बालेनले रास्वपाको नीति, नेतृत्व संरचना, पार्टीको झण्डा तथा निर्वाचन चिन्ह ‘घण्टी’ स्वीकार गर्ने भएका छन्। आगामी निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्ने सहमति भएको बताइएको छ।

सहमतिको खाका तयार गरिरहेका नेताहरूका अनुसार रवि लामिछाने रास्वपाको सभापति नै रहनेछन् भने प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुनेछन्। बालेनले पार्टीभित्र कुनै पनि औपचारिक साङ्गठनिक जिम्मेवारी नलिने स्पष्ट पारेका छन्। यद्यपि, जेन–जी पुस्ताको प्रतिनिधित्व कसरी सुनिश्चित गर्ने भन्ने विषयमा बालेनले चासो देखाइरहेका छन्।

अहिलेको रास्वपाको पदाधिकारी टिममा कुनै परिवर्तन नहुने सहमति पनि भएको छ। ‘झण्डै सबै विषयमा सहमति भइसकेको छ। पार्टी, नेतृत्व, झण्डा र चुनाव चिन्ह रास्वपाकै रहने र सुरुमा बालेन प्रधानमन्त्री बन्ने सहमति भएको छ,’ स्रोतले भन्यो, ‘आज बेलुकासम्म हस्ताक्षर हुने सम्भावना छ।’

रास्वपातर्फबाट सहमतिको गृहकार्यमा उपसभापति डा. स्वर्णिम वाग्ले, सचिवालय सदस्य शिशिर खनाल र केन्द्रीय सदस्य असिम साह सहभागी छन् भने बालेनतर्फबाट सल्लाहकार कुमार बेन संलग्न छन्।

स्रोतका अनुसार बिहीबार नै रवि र बालेनबीच समझदारी बनेको थियो र सोही साँझ हस्ताक्षरको तयारी गरिएको थियो। तर, जेन–जी प्रतिनिधिहरूले पनि सहमतिमा आफ्नो भूमिका सुनिश्चित गर्नुपर्ने माग राखेपछि बालेनले विभिन्न राजनीतिक समूह तथा जेन–जी प्रतिनिधिसँग दिनभर छलफल गरेका थिए। जेन–जी प्रतिनिधित्व निर्वाचनमार्फत सुनिश्चित गर्ने विषयमा भने रवि र बालेन दुवै एकमत देखिएको स्रोतको दाबी छ।