राजन कुमार बानिया । पर्सा, ११ पुस । पर्साको कालिकामाई गाउँपालिकामा सरुवा भई आउनु भएका नयाँ प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा शुक्रबार हाजिर भई औपचारिक रूपमा कार्यभार सम्हाल्नु भएको छ। यस अवसरमा गाउँपालिकामा एक परिचयात्मक तथा स्वागत कार्यक्रम सम्पन्न गरिएको छ।

कालिकामाई गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष फुलमती देवी बरैनले प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई गमछा र फूलमाला लगाई स्वागत गर्नुभयो। कार्यक्रममा जनप्रतिनिधि, कार्यपालिका सदस्य, कर्मचारी तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमका क्रममा प्रमुख प्रशासकीय अधिकृत कुशवाहालाई जनप्रतिनिधि तथा कर्मचारीहरूले फूलमाला र अबिर लगाई हार्दिक स्वागत गरेका थिए। कार्यभार सम्हाल्दै उहाँले कालिकामाई गाउँपालिकाको कामकारबाही नियमसंगत ढंगले अगाडि बढाउने र विकासका कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

परिचयात्मक तथा स्वागत कार्यक्रममा वडा अध्यक्षहरू लालबाबु चौरसिया, संजय पटेल, सोनालाल चौरसिया, संजय प्रसाद गोढ, स्वास्थ्य शाखा प्रमुख योगेन्द्र चौरसिया, कृषि शाखा प्रमुख रणधिर चौरसिया लगायत जनप्रतिनिधि, कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो।

यसअघि कालिकामाई गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत अमित कुमार गिरी सरुवा भई जिराभवानी गाउँपालिका जानु भएको छ।