पंचगावा । १२ पुस ।तराई–मधेश क्षेत्रमा पछिल्लो एक सातादेखि चिसो तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा वचन युवा नेता शिवकुमार साहले जेष्ठ नागरिक, बालबालिका तथा सर्वसाधारणलाई चिसोबाट बच्न विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।

युवा नेता साहले चिसोका कारण स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै अति आवश्यक काम बाहेक घर बाहिर ननिस्कन र निस्कनै परेमा मोटो तथा चिसोबाट जोगाउने कपडा/लुगा लगाएर मात्र बाहिर निस्कन सबैमा अनुरोध गरेका छन्। उनले विशेषगरी जेष्ठ नागरिक, बालबालिका, दीर्घरोगी तथा गर्भवती महिलालाई थप सावधानी अपनाउनुपर्ने बताए।

साथै, साहले स्थानीय सरकार तथा सम्बन्धित निकायहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्दै बढ्दो चिसोलाई मध्यनजर गरी हरेक गाउँ–टोल तथा चौक–चोकमा दाउरा उपलब्ध गराउने व्यवस्था गर्न माग गरेका छन्। चिसोको बेला जनप्रतिनिधिहरू चुप लागेर नबस्न, जनताको समस्याप्रति संवेदनशील भई निरन्तर सक्रिय रहनुपर्ने उनको भनाइ छ।

युवा नेता साहले सबै नागरिकलाई आपसी सहकार्य र सतर्कताका साथ चिसोबाट जोगिन आग्रह गर्दै सुरक्षित रहन अनुरोध गरेका छन्।