पर्सा। १२ पुस । तराई–मधेस क्षेत्रमा एक सातादेखि बढ्दो चिसोलाई मध्यनजर गर्दै पर्साको पकाहाँ मैनपुर गाउँपालिकाले चिसोबाट बच्ने उद्देश्यले राहत कार्यक्रम सञ्चालन गरेको छ। गाउँपालिकाको आर्थिक लगानी तथा धोरे प्रहरी चौकीको सहयोगमा गाउँपालिकाका २२ स्थानका गाउँ–टोल तथा चौकहरूमा दाउरा बालेर स्थानीयवासीलाई चिसोबाट राहत प्रदान गरिएको हो।

विशेष गरी जेष्ठ नागरिक, बालबालिका तथा महिलालाई लक्षित गर्दै सञ्चालन गरिएको उक्त कार्यक्रमबाट स्थानीयवासीले प्रत्यक्ष राहत पाएका छन्। चिसोका कारण जनजीवन प्रभावित हुन नदिन स्थानीय सरकारले प्रहरीसँग समन्वय गरी निरन्तर पहल गरिरहेको जनाइएको छ।

पकाहाँ मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश प्रसादले अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन र बाहिर निस्कँदा मोटो तथा चिसोबाट बच्ने कपडा प्रयोग गर्न स्थानीयवासीलाई आग्रह गर्नुभयो। उहाँले चिसोबाट हुने सम्भावित जोखिमप्रति सचेत रहन सबैलाई अपिलसमेत गर्नुभयो।

दाउरा वितरण तथा व्यवस्थापनको क्रममा प्रहरी सहाय निरीक्षक भण्टु यादवले चिसोका कारण जनजीवन प्रभावित हुन नदिन स्थानीय सरकारसँग सहकार्य गर्दै निरन्तर रूपमा सहयोग गरिरहेको बताउनुभयो। उहाँले आगामी दिनमा पनि आवश्यकतानुसार सहयोग जारी रहने जानकारी दिनुभयो।