राजन कुमार बानियाँ ।  वीरगञ्ज । पर्साको पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा क्षेत्रमा सशस्त्र प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। भारतीय नम्बर प्लेटका मोटरसाइकलमा गाँजा लुकाएर भारततर्फ लैजाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

सशस्त्र प्रहरी बल पोखरियाका नायब उपरीक्षक शम्भु कटुवालको नेतृत्वमा खटिएको गस्ती टोलीले शनिबार दुई वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल जाँच गर्ने क्रममा गाँजा बरामद गरेको जनाएको छ।

पक्राउ पर्नेमा भारत बिहार राज्यको बेतिया जिल्ला, सिकटा थाना क्षेत्र अन्तर्गत बेहरा झुमका गाउँका ३७ वर्षीय अशोक महतो र पर्साको पकहामैनपुर गाउँपालिका–५ सबैठवा गाउँका ४३ वर्षीय रवीन्द्र महतो रहेका छन्।

अशोक महतोले चलाएको बीआर–२२ ए ५३०२ नम्बरको मोटरसाइकलबाट ४ किलो ५५० ग्राम गाँजा र रवीन्द्र महतोले चलाएको बीआर–२२ यू ११७८ नम्बरको मोटरसाइकलबाट ५ किलो ५00 ग्राम गाँजा बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गाँजा र मोटरसाइकलसहित दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पूर्णचन्द्र भट्टले जानकारी दिए।

सीमा क्षेत्रमा लागूऔषध तस्करी बढ्दै गएको अवस्थामा सशस्त्र प्रहरीको यो कारबाहीले तस्करी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।