राजन कुमार बानिया । पर्सा, १२ पुस । बोधिसत्वा बिहार, बुढानिलकण्ठ, काठमाडौंको सहयोग तथा डा. पियारतन महर्जनको सहजीकरणमा पिसफोर दलितस फाउन्डेसन नेपाल, पर्साको सहकार्यद्वारा पर्सा जिल्लाका एक हजार दलित तथा सीमान्तकृत बालबालिकालाई शैक्षिक तथा टियुसन व्यवस्थापन सामग्री वितरण गरिएको छ।

पर्सा जिल्लामा अझै पनि दलित समुदायका बालबालिकाहरूको विद्यालय छोड्ने दर उच्च रहेको र अधिकांश अभिभावक ज्यालादारी तथा मजदुरीमा निर्भर रहेका कारण बालबालिकाको पठनपाठन प्रभावित भइरहेको अवस्थालाई मध्यनजर गर्दै उक्त सामग्री सहयोग गरिएको हो। कापी–कलमको अभावका कारण विद्यालय छोड्ने अवस्था अन्त्य गर्ने, विद्यालयमा टिकाइ बढाउने, गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने तथा उत्तीर्ण दर वृद्धि गर्ने उद्देश्यसहित कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

पिसफोर दलितस फाउन्डेसन नेपालले पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिका वडा–३ कौवाबन गाउँको मुसहर बस्ती, कटैया क्षेत्रको दलित बस्ती, वडा–५ महुवन गाउँको दलित बस्ती तथा वीरगञ्ज महानगरपालिका वडा–१९ केहुनिया बिन्दबासनी गाउँको दलित बस्तीमा सञ्चालन गर्दै आएको सामुदायिक निःशुल्क टियुसन कक्षा तथा सिकाइ सुधार केन्द्रमा अध्ययनरत चार गाउँका एक हजार बालबालिकाका लागि सामग्री वितरण गरेको हो।

सहयोग सामग्रीमा कापी, कलम, चाउचाउ, चिसो भुइँमा बस्न प्रयोग हुने फोम (चटी), टियुसन व्यवस्थापनका लागि कुर्सी, टेबुल लगायतका आवश्यक सामग्री समावेश छन्।

कार्यक्रमका प्रमुख अतिथि बोधिसत्वा बिहार, बुढानिलकण्ठ, काठमाडौंका अध्यक्ष डा. पियारतन महर्जनले बालबालिकालाई आफ्नै हातबाट सामग्री वितरण गर्नुभएको थियो। डा. महर्जन सामाजिक, सामुदायिक विकास तथा मानवीय सेवामा सक्रिय अभियन्ता हुन्। उहाँले विगत वर्षहरूमा पर्सा जिल्लामा न्यानो कपडा वितरण, शैक्षिक सामग्री सहयोग, राहत तथा खाद्यान्न वितरणजस्ता विभिन्न सामाजिक कार्यहरू गर्दै आउनुभएको छ।

सखुवाप्रसौनी गाउँपालिका वडा–३ कौवाबन गाउँको मुसहर बस्तीकी खुसी कुमारी मुसहरले सहयोगप्रति खुशी व्यक्त गर्दै सहयोग गर्ने संस्थालाई धन्यवाद दिइन्। त्यसैगरी बिन्दबासनी गाउँका अभिभावक राजेन्द्र रामले यस सहयोगले दलित बालबालिकाको विद्यालय जाने दर बढ्ने विश्वास व्यक्त गर्दै आयोजकप्रति आभार व्यक्त गर्नुभयो।

कार्यक्रमको सहजीकरण पिसफोर दलितस फाउन्डेसन नेपालका अध्यक्ष मनोज रामले गर्नुभएको थियो भने फाउन्डेसनका कार्यकारिणी निर्देशक पारमानन्द राम, सचिव दीपेन्द्र राम, सदस्य सुरेन्द्र पासावान, सन्जोग राम, बिनोद राम लगायतको सहभागिता रहेको थियो।