पर्सा,१२ पुष। पर्सा जिल्लामा विगत केही दिनदेखि निरन्तर रूपमा बढ्दै गएको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन अत्यन्तै प्रभावित बनेको छ। बाक्लो तुवालो, चिसो हावा र घाम नलाग्ने मौसमका कारण दैनिक जनजीवनसँगै शैक्षिक गतिविधि समेत प्रभावित भएका छन्।

विशेषगरी बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै पर्सा जिल्लाका विभिन्न स्थानीय तहहरूले सामुदायिक तथा निजी विद्यालयहरूको जाडो बिदा थप गर्ने निर्णय गरेका छन्। अत्यधिक चिसोका कारण विद्यार्थीहरू विद्यालय आउन–जान कठिनाइ भोगिरहेको तथा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको जनाइएको छ।

वीरगञ्ज महानगरपालिकासहित पोखरिया नगरपालिका, बिन्दवासिनी गाउँपालिका, पटेर्वा सुगौली गाउँपालिका, सखुवा प्रसौनी गाउँपालिका र पकाहा मैनपुर गाउँपालिका लगायतका स्थानीय तहका शिक्षा शाखाहरूले छुट्टाछुट्टै सूचना जारी गर्दै विद्यालयहरूमा जाडो बिदा थप गरिएको जानकारी दिएका हुन्।

यसअघि पुस ८ र ९ गते जाडो बिदा दिइएको थियो भने पुस १० गते क्रिसमसको सार्वजनिक बिदा परेकाले विद्यालयहरू पुस ११ गतेबाट पुनः सञ्चालनमा आएका थिए। तर, पुस १२ गते शनिबारदेखि मौसम झनै प्रतिकूल बन्दै गएको र बाक्लो तुवालोका कारण घाम नलाग्दा चिसो अत्यधिक बढेकोले विद्यार्थीहरूलाई विद्यालय जान कठिनाइ भएको देखिएको छ।

शीतलहरका कारण बालबालिकामा निमोनिया, रुघाखोकी, श्वासप्रश्वाससम्बन्धी समस्या तथा अन्य स्वास्थ्य जोखिम देखिन सक्ने भएकाले पालिकाहरूले विद्यार्थीको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बिदा थप गर्ने निर्णय लिएका हुन्।

पालिकाहरूको निर्णयअनुसार पुस १३ र १४ गते चिसोका कारण थप जाडो बिदा दिइएको छ। यसैबीच पुस १५ गते तमु ल्होसारको सार्वजनिक बिदा रहेकाले पुस १६ गतेदेखि विद्यालयहरू पुनः नियमित रूपमा सञ्चालन हुने पटेर्वा सुगौली गाउँपालिकाका प्रधानाध्यापक शुभाष प्रसाद दासले जानकारी दिनुभएको छ।

स्थानीय तहका शिक्षा शाखाहरूले सम्बन्धित सूचनाहरू पालिकाको आधिकारिक वेबसाइट तथा अन्य माध्यममार्फत सार्वजनिक गर्दै अभिभावक, शिक्षक र विद्यार्थीहरूलाई जानकारी गराएका छन्। साथै, अभिभावकहरूलाई आफ्ना बालबालिकालाई चिसोबाट जोगाउने आवश्यक सावधानी अपनाउन समेत आग्रह गरिएको छ।

मौसमको अवस्था अझै प्रतिकूल बन्दै गएमा आगामी दिनहरूमा थप निर्णय लिन सकिने संकेत समेत स्थानीय तहहरूले दिएका छन्। अत्यधिक चिसोको प्रभाव कम नहुँदासम्म आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरिएको छ।