काठमाडौँ,१३ पुष । लामो समयको छलफल र कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच मध्यराति ७ बुँदे सहमति भएको छ।

सहमति अनुसार रास्वपाका सभापति रवि लामिछाने पार्टी सभापतिकै रूपमा रहनेछन् भने बालेन रास्वपाको तर्फबाट फागुन २१ गते हुने निर्वाचनमा प्रधानमन्त्रीका उम्मेदवार बन्ने भएका छन्।

दुवै पक्षबीच भएको सहमतिलाई ‘राजनीतिक बृहत् एकता’को संज्ञा दिइएको छ। सहमतिपछि जारी गरिएको दस्तावेजमा आगामी राजनीतिक दिशा, संगठनात्मक संरचना तथा नीतिगत प्रतिबद्धताबारे उल्लेख गरिएको छ।

यस्तो छ एकता सहमतिका ७ बुँदा पूर्णपाठ :

१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व ग्रहण गर्दै घाइते तथा शहीद परिवारका जायज मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्ने।

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्य हासिल गर्न आवश्यक गहिरा नीतिगत, संस्थागत तथा संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जग बसाल्दै आगामी १० वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयनमा प्रतिबद्ध रहने।

३. बृहत् एकतापछि कायम हुने राजनीतिक दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ रहने, दलको झण्डा साविककै निलो पृष्ठभूमिमा सेतो गोलाकारभित्र निलो घण्टीको आकृति रहने, चुनाव चिन्ह ‘घण्टी’ नै कायम रहने र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने तथा आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता एवं भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।

५. पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता तथा अनुभवी विज्ञहरूको समुचित समायोजन गर्दै जिम्मेवारी बाँडफाँड गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई मुख्य आधार बनाइने।

६. आसन्न आम निर्वाचनपछि यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सम्पूर्ण दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।

७. पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ वरिपरि गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी तथा सुसंस्कृत वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आह्वान गर्ने।