पर्सा, १३ पुष। इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले आफ्नो जन्मदिनको शुभ अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै उदाहरणीय कार्य गरेका छन्।

प्रहरी निरीक्षक थापाले आज पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर ४ स्थित श्री वनदेवी आधारभूत विद्यालय, भतौडा तथा वडा नम्बर १ अन्तर्गत रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत पथलहवा घाट र गादियानी टोलका अति विपन्न समुदायका करिब ए सय (१००) जना विद्यार्थी छात्र–छात्राहरूलाई कपी, पेन्सिल, कटर, इरेजरलगायतका आवश्यक शैक्षिक सामग्री वितरण गरेका हुन्।

शैक्षिक सामग्री वितरण कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक थापाले शिक्षामा समानता, निरन्तरता र गुणस्तर कायम राख्नु आजको आवश्यकता भएको उल्लेख गरे। उनले विद्यार्थीहरूलाई नियमित रूपमा अध्ययनमा ध्यान दिन, अनुशासन पालना गर्न, स्वास्थ्य सरसफाइमा विशेष ध्यान दिन तथा असल नागरिक बन्न प्रेरणादायी सुझावहरू समेत दिएका थिए।

अत्यधिक चिसोका कारण विद्यालयहरू बन्द रहे पनि प्रहरी निरीक्षक थापा स्वयं गाउँमै पुगेर विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको जनाउँदै, यस्तो कार्यले बालबालिकामा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

कार्यक्रममा श्री वनदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक सुभास प्रसाद दास, नेपाल पत्रकार महासंघ पर्साका सदस्य तथा शिक्षा पत्रकार जिल्ला अध्यक्ष प्रमोद यादव, सञ्चारकर्मी चिरञ्जीवी यादव, बिनोद यादव, साथै स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

स्थानीय अभिभावक तथा विद्यालय प्रशासनले प्रहरी निरीक्षक थापाको यस मानवीय र सामाजिक कार्यको खुलेर प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन्। यस किसिमका कार्यहरूले समुदाय–प्रहरी सम्बन्ध अझ सुदृढ हुने र शिक्षाबाट वञ्चित बालबालिकामा आशा र उत्साह थपिने विश्वास व्यक्त गरिएको छ।