पर्सा, १४ पुस। पर्साको धोबिनी गाउँपालिकामा आजदेखि दुई अलग–अलग स्थानमा निःशुल्क लोकसेवा आयोग तयारी कक्षा सञ्चालनमा आएको छ। गाउँपालिकाभित्रका युवायुवतीलाई लोकसेवा तयारीमा सहज पहुँच दिलाउने उद्देश्यले कक्षा सुरु गरिएको आयोजकले जनाएको छ।

धोबिनी गाउँपालिका वडा नं. ५ स्थित श्री अजिज मियाँ माध्यमिक विद्यालयको सभाहलमा आयोजित निःशुल्क लोकसेवा तयारी कक्षाको उद्घाटन एक कार्यक्रमबीच वडा अध्यक्ष मनौवर मियाँले गर्नुभएको हो। उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष मियाँले अब लोकसेवा तयारीका लागि वीरगञ्ज, हेटौँडा वा काठमाडौं जानु नपर्ने उल्लेख गर्दै आफ्नै गाउँठाउँमा बसेर नायब सुब्बा, खरदार तथा नेपाल प्रहरीका परीक्षाको तयारी गर्न सकिने बताए।

“धेरै विद्यार्थी पढाइ सकेर पनि रोजगारीको खोजीमा घरमै बसिरहेका छन्। कतिपयले महँगो खर्च गरेर शहरमा लोकसेवा तयारी गरिरहेका छन्। त्यसलाई मध्यनजर गर्दै गाउँमै निःशुल्क कक्षा सञ्चालन गरिएको हो,” वडा अध्यक्ष मियाँले भने।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रतिनिधि श्यामकिशोर पटेलले आगामी दिनमा उच्च शिक्षा तथा अन्य प्रतिस्पर्धात्मक परीक्षाका लागि समेत निःशुल्क तयारी कक्षा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे।

उद्घाटन कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खतिवडा, वडा अध्यक्षहरू राजकिशोर पटेल र अबास मियाँ, लेखापाल सोनु कुमार सोनी, शिक्षा प्रमुख जितेन्द्र चौहान, लोकसेवा प्रशिक्षक जितेन्द्र राम र गोविन्द पटेल, बृजेश पटेललगायतको उपस्थिति रहेको थियो।

लोकसेवा तयारी कक्षामा दुवै केन्द्रमा गरी ३५–३५ जना गरी कुल ७० जना विद्यार्थी सहभागी भएका छन्। कक्षा राष्ट्रिय स्किल डेभलपमेन्ट प्रा.लि. वीरगञ्ज तथा मधेश स्किल तालिम केन्द्र वीरगञ्ज को आयोजनामा सञ्चालन गरिएको हो।

आयोजकका अनुसार निःशुल्क लोकसेवा तयारी कक्षा ६० दिनसम्म सञ्चालन हुनेछ, जसले गाउँपालिकाका युवायुवतीलाई सरकारी सेवामा प्रवेशका लागि थप प्रेरणा र अवसर प्रदान गर्ने विश्वास लिइएको छ।