पर्सा। पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं. ५ स्थित धार्मिक तथा ऐतिहासिक श्री पारसनाथ महादेव मन्दिर महुवन मठको अतिक्रमित जग्गा खाली गराउन सरकारी निकायहरूले कडा कदम चालेका छन्। लामो समयदेखि विवादित बनेको उक्त जग्गाका सम्बन्धमा गुठी संस्थान र सखुवा प्रसौनी गाउँपालिकाले ७ दिने अन्तिम अल्टिमेटम जारी गर्दै अतिक्रमण हटाउन निर्देशन दिएका हुन्।

गुठी संस्थान शाखा कार्यालय वीरगन्जकी कार्यालय प्रमुख उर्मिला आचार्यले च.नं. २०३ को पत्रमार्फत महुवन मठको कित्ता नं. २७६ मा रहेको ५ बिघा १७ कट्ठा १४ धुर जग्गामा निर्माण गरिएका अनधिकृत घर–टहरा ७ दिनभित्र हटाउन आदेश दिनुभएको छ। सोही आधारमा गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले पनि सार्वजनिक सूचना जारी गर्दै धार्मिक सम्पत्ति संरक्षणका लागि तत्काल जग्गा खाली गर्न आग्रह गर्नुभएको छ।

सूचनामा अध्यक्ष यादवले अटेर गरेमा कानुन बमोजिम जुनसुकै बेला बल प्रयोग गरी संरचना हटाइने र त्यसको सम्पूर्ण खर्च अतिक्रमणकारीबाटै असुल गरिने स्पष्ट पार्नुभएको छ। यसअघि राजनीतिक हस्तक्षेप र विभिन्न दबाबका कारण जग्गा खाली गराउने प्रयास प्रभावकारी हुन नसकेको स्थानीयहरूको गुनासो छ।

स्थानीय बासिन्दा उप्रान्त यादवका अनुसार लामो समयदेखि चल्दै आएको विवाद राजनीतिक दाउपेचका कारण टुंगिन नसकेको थियो। दुवै निकायका प्रमुखहरूले हस्ताक्षरसहित पत्र जारी गरेपछि भने अब जग्गा खाली हुने र मठको सम्पत्ति संरक्षण हुने आशा जागेको उहाँले बताउनुभयो।

गुठी संस्थान र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय पर्सालाई समेत बोधार्थ पठाइसकेकोले यसपटक प्रशासन अडिग रहने संकेत देखिएको छ। ७ दिनको समयसीमाभित्र स्वेच्छाले संरचना नहटाएमा सुरक्षा निकायको सहयोगमा डोजर प्रयोग गरी अतिक्रमण हटाइने तयारी गरिएको गाउँपालिकाले जनाएको छ।