पर्सा, १५ पुष। दिव्य विकास स्रोत केन्द्र पर्सा र एक्सनएड नेपालको संयुक्त साझेदारीमा सञ्चालित स्थानीय अधिकार कार्यक्रम अन्तर्गत ग्रामीण स्तरीय अनुगमन कार्यक्रम आज मङ्गलबार सम्पन्न भएको छ।

अनुगमन टोलीले पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिकाका वडा नं. १, २ र ४ का विभिन्न टोलहरूमा पुगेर कार्यक्रमबाट हासिल भएका उपलब्धि, प्रभाव तथा चुनौतीहरूको स्थलगत रूपमा अध्ययन तथा अवलोकन गरेको थियो। टोलीले कार्यक्रमबाट लाभान्वित परिवार, महिला समूह, किशोरी तथा लक्षित वर्गसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गर्दै उनीहरूको अनुभव र सुझावहरू संकलन गरेको हो।

कार्यक्रमअन्तर्गत वडा नं. २ को थरगटि टोलमा सञ्चालित सिकाइ केन्द्र का बालबालिकाको शैक्षिक अवस्था र प्रगतिबारे विशेष छलफल गरिएको थियो। दिव्य विकास स्रोत केन्द्रद्वारा सञ्चालन भइरहेको उक्त सिकाइ केन्द्र विगत सात वर्षदेखि सहजकर्ता मनोज उराँवले सञ्चालन गर्दै आएका छन्। उनले सुरुको चरणमा बालबालिकामा बोल्न नसक्ने, गृहकार्य नगर्ने जस्ता चुनौतीहरू रहेको बताए। हाल भने बालबालिकाको सिकाइस्तरमा उल्लेखनीय सुधार आएको र केन्द्रमा करिब ४०–५० जना बालबालिका नियमित सहभागी हुने गरेको जानकारी दिए। केन्द्रमा शिक्षण–सिकाइलाई प्रभावकारी बनाउन आवश्यक शैक्षिक सामग्री समेत वितरण गरिएको उनले बताए।

त्यसैगरी, सोही वडाकी रनिता उराँवले आर्गानिक च्याउ खेती प्रवर्द्धनका लागि दिव्य विकास स्रोत केन्द्रबाट सुरुमा १३ हजार रुपैयाँ र पछि थप २५ हजार रुपैयाँ सहयोग पाएको बताइन्। बिउबिजन सहयोग प्राप्त गरी उनले च्याउ खेती सुरु गरेकी हुन्। उनले २८ वटा मुढा तयार गर्न ४ हजार रुपैयाँ खर्च लागेको र पाँचवटा मुढा बिक्रीबाट लगानी निस्किसकेको जानकारी दिइन्। बाँकी २४ वटा मुढाबाट करिब २० हजार रुपैयाँ फाइदा हुने अनुमान रहेको उनले बताइन्। च्याउ रङपुर बजारमा प्रतिकिलो १६० रुपैयाँमा बिक्री गर्दै आएको र यस आम्दानीले घरपरिवार चलाउन सहज भएको उनको भनाइ छ।
यसै वडाकी अर्की एक महिलाले बङ्गुर पालनका लागि ३० हजार रुपैयाँ सहयोग पाएको र उक्त सहयोगबाट तीनवटा बङ्गुर पाल्दै आएको जानकारी दिइन्।

कार्यक्रमबाट प्राप्त सहयोगले आफ्नो आर्थिक अवस्था सुधार भएको, आत्मनिर्भर बन्ने अवसर प्राप्त भएको र जीवनस्तरमा सकारात्मक परिवर्तन आएको लाभान्वित परिवारहरूले अनुगमन टोलीलाई बताएका छन्।
यस्तै, वडा नं. १ मा गठन भएको किशोरी, युवा तथा महिला समूह को सक्रियताले बालविवाह र महिला हिंसा न्यूनीकरणमा महत्वपूर्ण योगदान पुगेको पाइएको छ। समूहसँग गरिएको छलफलमा एक महिलाले वडा नं. १ मा दुईवटा बालविवाह रोक्न सफल भएको जानकारी दिइन्। बालविवाह, दाइजो प्रथा र महिला हिंसा अन्त्यका लागि घरदैलो कार्यक्रम, विद्यालयस्तरीय सचेतनामूलक कार्यक्रम तथा समुदायस्तरीय संवाद सञ्चालन गरिएको उनले बताइन्। साथै, गाउँपालिकाका पाँचै वडामा विवाहका लागि सिफारिस लिनुपर्ने व्यवस्था सम्बन्धी सूचना टाँगिएको जानकारी दिइयो।

यस वडामा केही महिलालाई तरकारी खेती, किराना पसल तथा साना व्यवसाय सञ्चालनका लागि आर्थिक सहयोग प्रदान गरिएको छ। महिला श्रमिक समूहकी अगुवा आलमा खातुनका अनुसार कार्यक्रम लागू भएपछि महिलाहरूको आर्थिक रूपान्तरण भएको छ र उनीहरू आफ्नै खुट्टामा उभिन सक्षम भएका छन्।

वडा नं. १ कै गदियानी टोलकी सहीमा खातुनले दिव्य विकास स्रोत केन्द्रबाट ३० हजार रुपैयाँ सहयोग पाएपछि कस्मेटिक पसल सञ्चालन गर्दै आएको र दैनिक करिब ५०० रुपैयाँसम्म बिक्री हुने बताइन्। यस आम्दानीले आफ्ना बालबालिकाको शिक्षादीक्षा र घरखर्च व्यवस्थापनमा सहज भएको उनको भनाइ छ। त्यस्तै, नजबु नेसाले किराना पसल सञ्चालनका लागि ३० हजार रुपैयाँ सहयोग पाएको र यसले घरपरिवार चलाउन उल्लेखनीय सहयोग पुगेको बताइन्।

अनुगमन टोलीले वडा नं. ४ स्थित श्री नेरा माध्यमिक विद्यालयमा किशोरीहरूका लागि निर्माण गरिएको आराम कक्ष तथा छात्रामैत्री शौचालय को समेत अवलोकन गरेको थियो। यस संरचनाले किशोरी विद्यार्थीहरूको विद्यालय उपस्थितिमा सकारात्मक प्रभाव पारेको पाइएको टोलीले जनाएको छ।

अनुगमन टोलीमा नेपाल पत्रकार महासङ्घ पर्साका सदस्य प्रमोद यादव, विभिन्न संचार माध्यममा आबद्ध सञ्चारकर्मीहरू चिरञ्जीवी यादव, नवल यादव, विनोद यादव र अजय चौधरी, दिव्य विकास स्रोत केन्द्रका एकाउन्टेन्ट श्यामकुमार चौहान, सामाजिक परिचालक सञ्जय चौधरी र भरत चौधरी तथाल स्थानीय अधिकार कार्यक्रमका कर्मचारीहरूको सहभागिता रहेको थियो।

अनुगमनका क्रममा स्थानीय तह, समुदाय र लाभान्वित वर्गबीच सहकार्यलाई अझ प्रभावकारी बनाउँदै कार्यक्रमलाई दिगो रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ।