पर्सा, १५ पुष। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देखिएका नयाँ राजनीतिक शक्तिहरूको सहकार्यप्रति तीखो टिप्पणी गरेका छन् । उनले ती शक्तिहरूलाई प्रभावहीन र कमजोर भन्दै व्यङ्ग्यात्मक भाषामा प्रस्तुत गरेका छन् ।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मङ्गलवार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) र ऊर्जा क्षेत्रमा चर्चित कुलमान घिसिङबीच देखिएको सामीप्यलाई लक्षित गर्दै कटाक्ष गरे । उनले यो सहकार्यलाई ‘कुखुरा, बाख्रा र स्यालको मोर्चा’ को संज्ञा दिए ।

“यस्तो समूहले जङ्गलको बाघलाई कसरी सिकार गर्न सक्छ ?” ओलीको प्रश्न थियो । एमाले आफूलाई बलियो शक्तिको रूपमा उभ्याउँदै उनले नयाँ राजनीतिक पात्रहरूको गठजोडलाई ‘दुब्ला र कमजोरहरूको प्रयास’ मात्र भएको टिप्पणी गरे ।

ओलीले एमाले कमजोर पार्न विभिन्न पक्ष एकजुट भएको आरोपसमेत लगाए । यस क्रममा उनले नेपाली काँग्रेसलाई पनि आलोचनाबाट अलग राखेनन् । “काँग्रेस सधैँ छेउमै बस्छ, तर मौका पाउँदा समस्याको जरो बन्छ,” ओलीले भने ।

आगामी निर्वाचनबारे कुरा गर्दै ओलीले जनमतको वास्तविक फैसला चुनावले नै गर्ने दाबी गरे । “को लोकप्रिय छ, को होइन भन्ने बहस चुनावसम्म चलिरहन्छ । हामी निर्वाचनको पर्खाइमा छौँ — फागुन २१ होस्, वैशाख होस् वा अर्को मङ्सिर,” उनले भने ।

एमालेको हालै सम्पन्न महाधिवेशनले पार्टीलाई स्पष्ट दिशाबोध गराएको दाबी गर्दै ओलीले निर्वाचनलाई जनताको अन्तिम फैसला दिने माध्यमका रूपमा प्रस्तुत गरे ।