काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुझाएको समानुपातिक उम्मेदवार सूचीप्रति जेन–जी अभियानका अभियन्ताहरूले कडा असहमति जनाएका छन्। उनीहरूले समानुपातिक प्रतिनिधित्वको मर्मविपरीत सूची सार्वजनिक भएको भन्दै यसलाई जेन–जी आन्दोलन र आम नेपाली जनताको अपमान भएको टिप्पणी गरेका छन्।

संविधानले समानुपातिक प्रणालीमार्फत सबै क्षेत्र, वर्ग, जात, लिङ्ग र भौगोलिक क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरे पनि हाल बुझाइएको सूचीमा सत्ता नजिकका, चितवन र सुनसरी केन्द्रित अनुहारहरू हाबी भएको आरोप जेन–जीको छ। उनीहरूका अनुसार सूचीमा पार्टी नेतृत्वसँग नजिक रहेका व्यक्ति, आफन्त, ससुरा तथा आसेपासे अनुहारहरू दोहोरिएको देखिन्छ।

जेन–जी अभियन्ता अर्जुन साहले समानुपातिक ११० जनाको सूचीमा कम्तीमा ७७ जिल्लाबाट एक–एक जना प्रतिनिधि समावेश गरिएको भए उचित हुने धारणा राखेका छन्। “समानुपातिक प्रणालीको उद्देश्य नै देशभरिका आवाज संसदमा पुर्‍याउनु हो,” उनले भने, “तर देशको प्रतिनिधित्व चितवन वा सुनसरीमा मात्र सीमित हुनु दुर्भाग्यपूर्ण हो।”
उनका अनुसार गरीब, सीमान्तकृत, ग्रामीण र पिछडिएका समुदायलाई प्राथमिकताका साथ समावेश नगरी समानुपातिकको उद्देश्य पूरा हुन सक्दैन। “नेपालको प्रतिनिधित्व सिराहा, सप्तरी, महोत्तरी वा अन्य भूगोलमा मात्र सीमित हुन सक्दैन, यो देशको हरेक कुनाबाट हुनुपर्छ,” साहको भनाइ छ।

जेन–जी आन्दोलनले माग गरेको परिवर्तन शक्ति र कुर्सीका लागि नभएको स्पष्ट पार्दै साहले भने, “हाम्रो आन्दोलन भ्रष्टाचारविरुद्ध, समावेशी राजनीतिको पक्षमा, नेपो किड्स र राजनीतिक नियुक्तिको विरोधमा तथा प्रणालीगत समानताका लागि हो। समानुपातिक प्रणालीमा असमानता कुनै पनि हालतमा स्वीकार्य हुँदैन।”

उनले रास्वपालाई समानुपातिक सूची पुनरावलोकन गरी संविधानको मर्मअनुसार समावेशी र भौगोलिक सन्तुलन कायम गर्न आग्रह गरेका छन्।