पर्सा,१६ पुष । पोखरा महानगरपालिका–१६ दीप (साबिक बाटुलेचौर) मा रहेको करिब १३५ रोपनी क्षेत्रफलको लिची बगैँचाको जग्गा हडप्ने प्रयाससँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार थुनछेक बहसपछि गुप्तालाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

अदालतको वेबसाइटमा आदेश सार्वजनिक भइसके पनि आदेशको पूर्ण पाठ भने हालसम्म सार्वजनिक गरिएको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते (अक्टोबर २०२५) पूर्व मन्त्री गुप्तासहित तत्कालीन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री तथा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसमेत ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी, बिचौलिया सुजनकुमार लामा (तामाङ), खेमबहादुर पुन, यमकुमारी गुरुङ र तुल्सीराम बुढामगर पनि प्रतिवादी छन् । आयोगले गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो दाबी गरेको छ ।