पर्सा । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं–४ मा आयोजना गरिएको दोस्रो क्रिकेट प्रतियोगिता वडा अध्यक्ष आरिफ अंसारीको नेतृत्वमा भव्य रूपमा सञ्चालन भइरहेको छ।

प्रतियोगिताअन्तर्गत आज एकडर्वा र कटैयाबीच भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कटैयाको टिमले १६ ओभरमा ५ विकेट गुमाउँदै १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। लक्ष्य पछ्याएको एकडर्वा टिमले १२ ओभरमै लक्ष्य पूरा गर्दै शानदार जित हासिल गर्‍यो।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै २५ रन बनाउनुका साथै २ विकेट लिएका एकडर्वा टिमका तूफान पटेल ‘म्यान अफ द म्याच’ घोषित भए। एकडर्वा टिमका कोच चन्दन सहनीले खेलाडीहरूको प्रदर्शन प्रशंसनीय रहेको बताए।

प्रतियोगिताअन्तर्गत भोलि बिहीवार खेल स्थगित (ग्याप) रहनेछ भने पर्सि १८ गते प्रसौनी र महुनबीच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएका छन्।