पकाहामैनपुर गाउँपालिकाका युवा नेता अकलेश साहले प्रतिशोध, आरोप–प्रत्यारोप र विगतका कमजोरीमा अल्झिएको राजनीतिभन्दा माथि उठेर सेवा, परिवर्तन र परिणाममुखी राजनीतिक अभ्यास आवश्यक रहेको बताएका छन्। उनले आफ्नो राजनीतिक उद्देश्य बदला लिनु नभई भविष्य सुधार्ने स्पष्ट मार्ग निर्माण गर्नु रहेको बताएका हुन्।

एक सार्वजनिक अभिव्यक्तिमार्फत साहले पकाहामैनपुर गाउँपालिकामा आजको आवश्यकता इमानदार नेतृत्व, न्यायपूर्ण शासन व्यवस्था र समावेशी विकास भएको उल्लेख गरे। “राजनीति व्यक्तिगत स्वार्थ वा बदला साध्ने माध्यम होइन, यो जनताको सेवा गर्ने संस्कार हुनुपर्छ,” भन्दै उनले विभाजनको राजनीतिभन्दा एकता, डरभन्दा आशा र खोक्रा नाराभन्दा ठोस परिणाममा आधारित राजनीति अपरिहार्य रहेको धारणा राखे।

उनले आफूले चाहेको राजनीति युवालाई अवसर दिने, किसानलाई सम्मान गर्ने, श्रमिकलाई न्याय दिलाउने र प्रत्येक नागरिकले आफ्नै पालिकामा सुरक्षित तथा सम्मानित महसुस गर्न सक्ने वातावरण निर्माण गर्ने खालको भएको बताए। परिवर्तन भनेको केवल सत्ता हस्तान्तरण मात्र नभई सोच, संस्कार र प्रणालीमा व्यापक सुधार हुनु पर्ने उनको भनाइ छ।

युवा नेता साहले इमानदारी, पारदर्शिता र जवाफदेहितालाई आफ्नो राजनीतिक यात्राको मूल आधार बनाउँदै अघि बढ्ने प्रतिबद्धता पनि जनाएका छन्। पकाहामैनपुर गाउँपालिकाको भविष्य बदला र द्वन्द्वमा होइन, सहकार्य, सुधार र समृद्धिको बाटोमा अघि बढ्नुपर्नेमा उनले जोड दिए।

उनको यस दृष्टिकोणले स्थानीय तहमा सकारात्मक राजनीति, विकासमुखी बहस र जनउत्तरदायी शासन प्रणालीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।