पर्सा, १७ पुस। पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा सक्रिय नेता टेकबहादुर शाक्य राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा विधिवत रूपमा प्रवेश गर्नुभएको छ। तत्कालीन नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्यसमेत रहनुभएका शाक्यलाई रास्वपाले पर्सा–४ बाट उम्मेदवारका रूपमा अघि सार्ने निर्णय गरेको छ।

क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापति जितेन्द्र मिश्र का अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले शाक्यलाई सो क्षेत्रको सम्भावित उम्मेदवार का रूपमा अघि बढाउने निर्णय गरेको हो। यस विषयमा प्रतिक्रिया दिँदै शाक्यले पर्सा–४ बाट रास्वपाको तर्फबाट उम्मेदवारी दिएर निर्वाचनमा सहभागी हुने स्पष्ट पार्नुभएको छ।

शाक्यलाई पार्टी प्रवेश कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य नन्दन यादव तथा पर्सा जिल्ला अध्यक्ष हरिपन्त ले स्वागत गर्दै विधिवत रूपमा पार्टी प्रवेश गराउनुभएको थियो। कार्यक्रममा स्थानीय नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पर्सा–४ मा संगठन सुदृढीकरण गर्दै नयाँ र सक्षम नेतृत्व अघि सार्ने रणनीतिअन्तर्गत शाक्यलाई उम्मेदवार बनाइएको जनाएको छ। शाक्यको पार्टी प्रवेशसँगै पर्सा–४ मा रास्वपाको राजनीतिक गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।