पर्सा । अङ्ग्रेजी नयाँ वर्षको अवसरमा पर्सा जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीय वन क्षेत्रहरूमा बिहीवार बिहानैदेखि उत्सवमय वातावरण छाएको छ। नेपाल तथा भारतका विभिन्न स्थानबाट आएका हजारौँ आगन्तुकले धार्मिक स्थलहरूको दर्शन गर्नुका साथै वनभोज र सांस्कृतिक कार्यक्रममार्फत नयाँ वर्षलाई स्वागत गरेका छन्।

नयाँ वर्ष मनाउन पर्साको पटेर्वासुगौली गाउँपालिकास्थित भुमरीमाई र गादीमाई, पर्सागढी नगरपालिकाको कोइलाभार र आमोदेवी, जीराभवानी गाउँपालिकाको सुगीभार तथा सखुवाप्रसौनी गाउँपालिकाको शिवधाममा पर्यटकहरूको उल्लेखनीय भीड लागेको थियो। विशेषगरी सीमावर्ती भारतीय सहरहरू र छिमेकी जिल्लाबाट आएका पर्यटकहरूले मासु, मदिरा तथा विभिन्न परिकारका साथ वनभोजको आनन्द लिएका थिए। ठाउँ–ठाउँमा स्थानीय कलाकारहरूको सांस्कृतिक प्रस्तुतिले माहोललाई थप रमाइलो बनाएको थियो।

यी धार्मिक वन क्षेत्रहरू प्राकृतिक सुन्दरता र धार्मिक आस्थाका महत्वपूर्ण केन्द्र मानिन्छन्। सरसफाइ, सुरक्षा तथा पूर्वाधार (खानेपानी, शौचालय, डस्टबिन) को उचित व्यवस्थापन गर्न सके तराईकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ। आज देखिएको उत्साह र भीडले पर्सामा आन्तरिक पर्यटनको ठूलो सम्भावना रहेको पुष्टि गरेको छ।

पर्यटकको चापसँगै प्लास्टिक, बियरका बोतल र कागजजन्य फोहर बढ्ने जोखिमलाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधिहरूले सरसफाइ अभियानलाई तीव्र बनाएका छन्। विगतमा फोहरका कारण यी क्षेत्र कुरूप बनेको जनगुनासो बढेपछि वडाध्यक्षहरूको पहलमा अङ्ग्रेजी नयाँ वर्षअघि दुई–तीन दिनदेखि सरसफाइ कार्य गरिएको थियो।

वडाध्यक्ष विजय गैरेले भुमरीमाई क्षेत्रमा नयाँ वर्षलाई लक्षित गर्दै सरसफाइ र विशेष निगरानी बढाइएको बताए। कोइलाभार वन क्षेत्रमा सरसफाइसँगै सुरक्षा निगरानीका लागि प्रहरीसहितको जनशक्ति परिचालन गरिएको वडाध्यक्ष राजकपूर खवासले जानकारी दिए। त्यस्तै, पर्सागढी नगरपालिका–३ अन्तर्गत पर्ने आमोदेवी धार्मिक वन क्षेत्रलाई आकर्षक बनाइएको वडाध्यक्ष सुकमान तामाङले बताए।

यद्यपि पिकनिक मनाउन पुगेका आगन्तुकहरूले भने सरसफाइ र शौचालयको पर्याप्त व्यवस्था नहुँदा समस्या भएको गुनासो गरेका छन्। सखुवाप्रसौनी गाउँपालिकाका स्थानीय प्रभु यादवले सरसफाइ गरिएको दाबी भए पनि धेरै स्थानमा अझै फोहर देखिएको बताए। वीरगञ्जका ज्ञानेश्वर यादव र लालबहादुर यादवले पिकनिक स्थलहरूमा डस्टबिन र शौचालयको अभाव रहेको उल्लेख गर्दै, आगन्तुकबाट न्यून शुल्क संकलन गरेर वा वडा तथा पालिकाले दीर्घकालीन व्यवस्थापन गर्नुपर्ने माग गरेका छन्।