बलिराम शुक्ला। पर्सागढी, १८ पुस । पर्सागढी नगरपालिका वडा नं. ३ मा अवस्थित अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्था को १९औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।

पर्सागढी नगरपालिकाका नगर प्रमुख गोकर्ण पाठक को प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभालाई सम्बोधन गर्दै नगर प्रमुख पाठकले पर्सागढी कृषि तथा पशुपालनमा आत्मनिर्भर रहेको उल्लेख गर्नुभयो। स्वदेशमै कृषि र पशुपालनलाई प्रोत्साहन गर्न सके युवाहरूको विदेश पलायन रोक्न सकिने उहाँको भनाइ थियो।

नगर प्रमुख पाठकले पर्सागढी नगरपालिकाभित्र गरिबीको रेखामुनि रहेका किसानहरूलाई समूहगत चक्रिय प्रणालीमार्फत बाख्रा वितरण गर्ने कार्यक्रम चाँडै सञ्चालन गरिने जानकारी दिनुभयो। साथै विदेशबाट आयात हुने दुग्धका कारण स्वदेशमै उत्पादित दुग्ध बिक्रीमा समस्या भइरहेको बताउँदै विदेशी दुग्ध आयात रोक्नुपर्नेमा जोड दिनुभयो।

अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष मीनबहादुर भण्डारी को अध्यक्षतामा सम्पन्न कार्यक्रममा युवा समाजसेवी सुरज मानन्धर, पर्सागढी नगरपालिका वडा नं. १ का वडा अध्यक्ष राजकपुर खवास, संस्थाका पूर्व अध्यक्ष जगरनाथ तिवारी, झाब्राहा दुग्ध उत्पादक सहकारीका अध्यक्ष विक्रम कार्की, सुजल डेरी प्रा.लि. पोखराका सञ्चालक गजेन्द्र अगस्ती, समाजसेवी बालकृष्ण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा संस्थाका व्यवस्थापक प्रेम तिवारी ले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै उक्त आर्थिक वर्षमा संस्थाले १० करोड ७८ लाख ३९ हजार रुपैयाँ कारोबार गरेको र ३४ लाख ८ हजार रुपैयाँ नाफा आर्जन गरेको जानकारी दिनुभयो। साथै लेखा संयोजक राम अगस्ती ले आर्थिक वर्ष २०८२/०८३ को अनुमानित वार्षिक बजेट प्रस्तुत गर्नुभएको थियो।

साधारण सभाको अवसरमा सहकारीमार्फत बढी दुग्ध बिक्री गर्ने किसान, असल बचतकर्ता, असल ऋणी, दुग्ध किसानका दुई जना छात्रा तथा मेहनती कर्मचारीहरूलाई नगदसहित कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य भुमा अधिकारी ले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण बलिराम शुक्ला ले गर्नुभएको थियो।