भद्रपुर,१९ पुष । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको एटीआर–७२ जहाज शुक्रबार राति चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने क्रममा रनवे पार गर्दै करिब १५० देखि ३०० मिटर पूर्वतर्फ घाँसे झाडीमा पुगेको छ । जहाज माटोमा भासिएपछि दुर्घटना भएको हो ।

कलसाइन एन–एएमएफ रहेको उक्त जहाजमा ५१ जना यात्रु, ४ जना चालक दलका सदस्य र १ जना इन्जिनियरसहित जम्मा ५६ जना सवार थिए । जहाज काठमाडौँबाट राति ८ः२३ बजे उडेको थियो भने करिब ९ः१० बजे अवतरणका क्रममा दुर्घटना भएको जनाइएको छ ।

जहाजमा आगलागी नभएकाले ठूलो क्षति हुनबाट जोगिएको छ । यात्रुहरूले झ्याल तथा ढोका फुटाएर बाहिर निस्किएको जनाइएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी उपरीक्षक राजन लिम्बूको नेतृत्वमा ७० जनाको टोली खटिएर सबै यात्रु तथा चालक दलका सदस्यको सकुशल उद्धार गरिएको थियो । प्रहरीले हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ ।

दुर्घटनामा को–पाइलट २४ वर्षीय सुशान्त श्रेष्ठसहित ७ जना घाइते भएका छन् । घाइते हुनेहरूमा भद्रपुर–१० का ४० वर्षीय सबिन जोगी, विर्तामोड–७ की २० वर्षीया प्रेषिका अधिकारी, विर्तामोड–१ की ४२ वर्षीया सुमित्रा जोगी, दमक–१ का २८ वर्षीय कमलप्रसाद कटुवाल, काठमाडौँ–१६ की ४० वर्षीया मुना घतानी र १६ वर्षीया प्रिया घतानी रहेका छन् ।

घाइते सबैलाई तत्काल नेपाल प्रहरीको उद्धार टोलीले ओमसाई पाथिभरा अस्पताल पुर्‍याएको थियो । को–पाइलट श्रेष्ठको टाउको र अनुहारमा चोट लागेकाले उपचार भइरहेको छ भने अन्य छ जना सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

प्रारम्भिक निरीक्षणमा जहाजको ककपिट, नोज भाग, प्रोपेलर र लिभरीमा क्षति पुगेको देखिएको छ । यद्यपि पखेटा, टेल र ल्यान्डिङ गियरमा गम्भीर क्षति नभएको विमानस्थल प्रमुख किशोरकुमार खत्रीले जानकारी दिएका छन् ।

बुद्ध एयरले घटनाको विस्तृत छानबिनमा नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । एयरलाइन्सले विज्ञप्ति जारी गर्दै घाइते यात्रुहरू सुरक्षित रहेको र उद्धारमा सहयोग गर्ने नेपाल प्रहरी, नेपाली सेना, क्यान तथा आफ्ना कर्मचारीहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

क्यानका निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णको नेतृत्वमा १८ सदस्यीय प्राविधिक टोली आवश्यक उपकरणसहित भद्रपुर जाने तयारीमा रहेको छ । टोलीमा सेफ्टी निर्देशनालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा एरोनोटिकल इन्जिनियरसहित बुद्ध एयरका प्राविधिकहरू पनि सहभागी रहनेछन् ।

तराई क्षेत्रमा बाक्लो हुस्सुका कारण उद्धार तथा प्राविधिक उडान प्रभावित हुन सक्ने बताइएको छ । टोलीले जहाज तान्ने, क्षतिको मूल्यांकन गर्ने र जोखिम न्यूनीकरणसम्बन्धी काम गर्नेछ ।

दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भइसकेको छ । घटनाका कारण अन्य उडानहरू पनि प्रभावित भएको प्रहरीले जनाएको छ ।