बलिराम शुक्ला । पर्सागढी । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित पाँचौँ नकआउट फुटबल प्रतियोगिता आजदेखि पर्सागढी नगरपालिका–बडनिहारस्थित खेलमैदानमा सुरु भएको छ। पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारद्वारा आयोजित प्रतियोगिताको उद्घाटन पर्सागढी नगरपालिका उपप्रमुख पूजा चौधरीले बल हस्तान्तरण गर्दै गरेकी हुन्।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले खेलकुदले आफ्नो ठाउँ, देश तथा विदेशसम्म चिनाउने भएकाले खेलको प्रवर्द्धन आवश्यक रहेको बताइन्। उनले पर्सागढी नगरपालिकाले “एक वडा–एक खेलमैदान” निर्माण गर्ने नीति लिएको जानकारी दिँदै खेलकुदमा महिलाको समेत समावेशी सहभागितामा जोड दिइन्।

क्लबका अध्यक्ष राम थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा युवा समाजसेवी सुरज मानन्धर, वडा अध्यक्ष सेख खुरसेदलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। स्वागत मन्तव्य समाजसेवी विक्रम कार्कीले प्रस्तुत गरेका थिए।

आजको उद्घाटन खेल पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहार र नगौल युनाइटेड फुटबल क्लब, बारा बीच सम्पन्न भएको थियो। निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो। ट्राइब्रेकरमा आयोजक क्लब पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहार ४–३ गोल अन्तरले विजयी भएको छ।

आयोजक क्लबका अध्यक्ष राम थापाका अनुसार भोलिको खेल नितान्त क्लब अफ नितनपुर, बारा र पर्सा राइडर फुटबल क्लब खजुरिया, पर्सा बीच हुनेछ। प्रतियोगितामा बारा र पर्साका गरी आठ वटा टिमहरूको सहभागिता रहेको छ।

क्लबका सचिव हरि थापाले प्रतियोगितामा प्रथम हुने टिमलाई ३० हजार रुपैयाँ र दोस्रो हुने टिमलाई २० हजार रुपैयाँ नगदसहित शिल्ड र मेडल प्रदान गरिने जानकारी दिए।