पर्सा,२० पुष । धनुषामा भएको मस्जिद आक्रमण घटनाको विरोधमा आइतबार वीरगञ्जमा मुस्लिम समुदायले गरेको उग्र प्रदर्शनपछि सामाजिक सञ्जालमा फैलिन सक्ने धार्मिक तथा सांस्कृतिक द्वेष, झुट्टा अफवाह र मानमर्दन गर्ने सामग्रीप्रति जिल्ला प्रशासन कार्यालय पर्साले कडा चेतावनी जारी गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दाहालको अध्यक्षतामा बसेको विशेष सुरक्षा समितिको बैठकपछि जारी गरिएको अपिलमा फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालको गतिविधिमाथि कडा निगरानी भइरहेको उल्लेख गरिएको छ। प्रशासनले सामाजिक सद्भाव भड्काउने गतिविधिलाई गम्भीर अपराधका रूपमा लिएर कानुनी कारबाही गरिने स्पष्ट पारेको छ।

अपिलमा कुनै पनि माध्यमबाट सामाजिक, धार्मिक वा सांस्कृतिक द्वेष फैलाउने, राष्ट्रिय एकतामा असर पुर्‍याउने, झुटा अफवाह फैलाउने वा कुनै धर्म तथा समुदायको सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने कार्य पूर्ण रूपमा निषेध गरिएको जनाइएको छ। यस्ता गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई कानुनअनुसार कडाइका साथ कारबाही गरिने प्रशासनको प्रतिबद्धता छ।

प्रशासनले मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत धर्मसम्बन्धी कसुरका प्रावधानहरू कार्यान्वयन गरिने जनाएको छ। सो संहिताअनुसार कुनै जात, जाति, सम्प्रदाय वा वर्गको धार्मिक आस्था अपमान गर्ने उद्देश्यले पूजा–प्रार्थनास्थल, पवित्र वस्तु, मसानघाट वा चिहानमा क्षति पुर्‍याएमा तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।

त्यस्तै, लेख, भाषण, संकेत वा अन्य कुनै माध्यमबाट समुदायको धार्मिक भावनामा चोट पुर्‍याएमा दुई वर्षसम्म कैद वा बीस हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने प्रावधान रहेको छ। यसका साथै विद्युतीय कारोबार ऐन, २०६३ अनुसार इन्टरनेट वा डिजिटल माध्यमबाट घृणा, द्वेष फैलाउने, सामाजिक सम्बन्ध बिगार्ने वा सार्वजनिक मर्यादाविरुद्धका सामग्री प्रकाशन वा प्रसारण गरेमा पाँच वर्षसम्म कैद, एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने उल्लेख गरिएको छ।

प्रमुख जिल्ला अधिकारी दाहालले कानुनी प्रावधानहरू कडाइका साथ लागू गरिने स्पष्ट पार्दै सबै नागरिकलाई संयमित रहन आग्रह गरेका छन्। प्रशासनको यो कदमले जिल्लामा सामाजिक सद्भाव, शान्ति र धार्मिक–सांस्कृतिक सहिष्णुता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

स्थानीयवासीहरूले पनि प्रशासनको अपिलको स्वागत गर्दै सामाजिक सञ्जालको दुरुपयोग रोक्न यस्तो कदम आवश्यक रहेको बताएका छन्। जिल्ला प्रशासन कार्यालयले कानुनको पालना गर्न र कुनै पनि किसिमका उत्तेजक गतिविधि नगर्न सबैलाई पुनः आग्रह गरेको छ।