बलिराम शुक्ला । पर्सागढी, २० पुस । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा पर्साराइडर फुटबल क्लब, खजुरिया विजयी भएको छ।

पर्सागढी युवा स्पोर्ट्स क्लब, बडनिहारको आयोजनामा सम्पन्न आजको खेलमा नितान्त क्लब, नितनपुर (बारा) र पर्साराइडर फुटबल क्लब, खजुरिया (पर्सा) बीच प्रतिस्पर्धा भएको थियो। खेलमा पर्साराइडर फुटबल क्लबले ४–० गोल अन्तरको स्पष्ट जित हात पारेको हो।

पर्साराइडर फुटबल क्लब, खजुरियाका जर्सी नम्बर १७ का अजित चौधरीले ह्याट्रिक गर्दै ३ गोल गरे भने सोही क्लबका जर्सी नम्बर १३ का अभिषेक चौधरीले १ गोल गर्दै टोलीलाई जित दिलाएका हुन्।

आयोजक क्लबका कोषाध्यक्ष विष्णु तामाङका अनुसार भोलिको खेल पटेर्वासुगौली गाउँपालिका फुटबल क्लब, पटेर्वासुगौली (पर्सा) र नमोबुद्ध युवा क्लब, झाब्राहा बीच हुनेछ।