पर्सा । २० पुस। सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साले अवैध रूपमा भारतबाट चोरी पैठारी गरिएका १० हजार गोटा ब्रोइलर कुखुराका चल्ला नियन्त्रणमा लिई नष्ट गरेको छ।

मिति २०८२ साल पुस २० गते सशस्त्र प्रहरी बल नं. १३ गण हे.क्वा. पर्साबाट खटिएको टोलीले जिल्ला पर्साको जगरनाथपुर गाउँपालिका–५, मसियानी क्षेत्रबाट भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएको उक्त चल्ला नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरीका अनुसार ९ जना व्यक्तिहरूले टाउकोमा बोकी प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला नेपालतर्फ ल्याउँदै गरेका थिए।

नियन्त्रणमा लिइएका करिब ५ लाख रुपैयाँ बराबरका १० हजार गोटा ब्रोइलर कुखुराका चल्लालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी नष्ट गरिएको सशस्त्र प्रहरीले जनाएको छ। नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरूको रोहबरमा सशस्त्र प्रहरी बल नं. १३ गण परिसरभित्र चल्ला नष्ट गरिएको हो।
सशस्त्र प्रहरी बलले सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी नियन्त्रणका लागि निगरानी र गस्तीलाई थप कडाइ गरिएको जनाएको छ।

यस सम्बन्धमा जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक (स.प्र.ना.उ.) विश्वराज योञ्जनले अवैध रूपमा आयात हुने वस्तुहरू नियन्त्रण गर्न सुरक्षा निकाय निरन्तर सक्रिय रहेको बताए।