पर्सा । निचुटा प्रिमियर लिगको दोस्रो संस्करण अन्तर्गत निचुटा प्रिमियर लिग (NPL) सिजन–२ का लागि खेलाडी अक्सन कार्यक्रम यही पुष २७ गते बिहान ११ बजेदेखि आयोजना हुने भएको छ।

निचुटा प्रिमियर लिग कमिटीको औपचारिक निर्णयअनुसार उक्त अक्सन कार्यक्रम पटेर्वा सुगौली गाउँपालिका वडा नं. ५ स्थित निचुटा फिल्डमा हुने जनाइएको छ। सिजन–२ को तयारी अन्तर्गत आयोजना हुन लागेको यो खेलाडी अक्सन कार्यक्रम प्रतियोगिताको सबैभन्दा महत्वपूर्ण चरणका रूपमा लिइएको छ।

निचुटा प्रिमियर लिग कमिटीद्वारा आयोजित तथा व्यवस्थापन गरिएको अक्सन कार्यक्रममार्फत सहभागी टिमहरूले सिजन–२ का लागि आवश्यक खेलाडी छनोट गर्नेछन्। अक्सन प्रक्रियाले टिमहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउने विश्वास आयोजकले लिएको छ।

खेलाडी अक्सन कार्यक्रमलाई थप पारदर्शी, व्यवस्थित र दर्शकमैत्री बनाउन यस कार्यक्रमको प्रत्यक्ष प्रसारण ग्रामीण टिभी तथा नेपाल जियोग्राफी टिभी मार्फत गरिने व्यवस्था गरिएको निचुटा प्रिमियर लिग कमिटीले जानकारी दिएको छ। प्रत्यक्ष प्रसारणमार्फत दर्शकहरूले घरमै बसेर पनि अक्सन प्रक्रियाको अवलोकन गर्न सक्नेछन्।

स्थानीय स्तरमा क्रिकेट खेलको विकास, प्रतिभावान खेलाडीहरूको पहिचान तथा युवालाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले निचुटा प्रिमियर लिग आयोजना हुँदै आएको छ। सिजन–२ लाई अझै व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य बनाउन आयोजक कमिटीले विशेष तयारी गरिरहेको जनाएको छ।

यस अवसरमा निचुटा प्रिमियर लिग सिजन–२ लाई सफल बनाउन सम्पूर्ण खेलाडी, टिम व्यवस्थापक, खेलप्रेमी दर्शक, पत्रकार तथा सरोकारवाला सबैको गरिमामय उपस्थितिका लागि निचुटा प्रिमियर लिग कमिटीले हार्दिक अनुरोध गरेको छ।