रौतहट। सीमावर्ती भारतीय बजार बैरगनियाबाट नेपालतर्फ प्रवेश गर्दै गरेकी एक भारतीय महिलालाई स्रोत नखुलेको नगदसहित रौतहट प्रहरीले नियन्त्रणमा लिएको छ।

गौर भन्सार अगाडि खटिएको प्रहरी चेकिङ टोलीले आइतबार दिउँसो पैदल नेपाल प्रवेश गर्दै गरेकी भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया निवासी ४५ वर्षीया रामकली देवीलाई शङ्कास्पद अवस्थामा पक्राउ गरेको हो। जाँचका क्रममा उनको साथबाट ठूलो परिमाणमा नेपाली तथा भारतीय नगद फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी रबिन कार्कीका अनुसार भन्सार सुरक्षा गार्डका प्रहरी हवल्दार बुधराम महतोको नेतृत्वमा खटिएको टोलीले ती महिलाको साथबाट कुल २ लाख ५० हजार ३ सय ६० रुपैयाँ बराबरको नगद बरामद गरेको हो। बरामद रकममा नेपाली रुपैयाँ १ हजार दरका १८० थान, ५ सय दरका १३३ थान, १ सय दरका ३७ थान तथा भारतीय रुपैयाँ १ सय दरको १ थान नोट रहेको छ।

बरामद नगदको वैधानिक स्रोत खुलाउन नसकेपछि ती महिलालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले सीमा क्षेत्रमा अवैध आर्थिक गतिविधि नियन्त्रणका लागि पछिल्लो समय निगरानी कडा बनाएको पनि जनाएको छ।