वीरगञ्ज, पर्सा। जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाको देहायका क्षेत्रमा अर्को आदेश नभएसम्म कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार २०८२ साल पुस २१ गते बिहान १ः०० बजेदेखि निषेधाज्ञा लागू गरिएको हो।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको जनाइएको छ। आदेश उल्लङ्घन गर्नेहरूलाई नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

निषेधाज्ञा लागू हुने क्षेत्रको सीमाना पूर्वमा बसपार्क, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेट तोकिएको छ। जिल्ला प्रशासन कार्यालयले शान्ति, सुरक्षा र सार्वजनिक सुव्यवस्था कायम गर्न आदेश पालना गर्न सबैलाई आग्रह गरेको छ।