काठमाडौँ। सरकारले जेन–जी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेन–जी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न समाजलाई अनुदान दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो।

बैठकले नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय गरेको छ। साथै नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र (MoU) पनि स्वीकृत गरिएको छ।

मन्त्रिपरिषद् बैठकले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउनेसम्बन्धी आदेश–२०८२ स्वीकृत गरेको छ। त्यस्तै वन (तेस्रो संशोधन) नियमावली–२०८२ लाई पनि बैठकले अनुमोदन गरेको छ।

कर्मचारी व्यवस्थापनतर्फ सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा ओमबहादुर खड्का लाई बढुवा गरेको छ। त्यस्तै नेपाल लेखा परीक्षण सेवा, समूहीकरणतर्फ उपमहालेखापरीक्षक पदमा घनश्याम पराजुली लाई बढुवा गर्ने निर्णय पनि बैठकले गरेको छ।

यसैगरी समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानीसम्बन्धी कार्य गर्ने व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपाने लाई मनोनयन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ।