काठमाडौँ। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भेनेजुएलामाथि भएको अमेरिकी सैन्य कारबाहीलाई लिएर संयुक्त राष्ट्रसंघ (यूएन) को भूमिकामाथि कडा प्रश्न उठाएका छन्। उनले विश्व शान्ति र लोकतन्त्रको वकालत गर्ने अन्तर्राष्ट्रिय निकायको मौनताप्रति असन्तुष्टि व्यक्त गरेका हुन्।

आइतबार सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै मेयर साम्पाङले अमेरिकाको कदमप्रति यूएनले कुनै प्रतिक्रिया नजनाएको विषयलाई लिएर आलोचना गरेका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार गत शनिबार अमेरिकाले लागुऔषध तस्करीको आरोपमा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई नियन्त्रणमा लिएको दाबी गरेको थियो।

यस घटनापछि नेपालका वामपन्थी दल तथा विभिन्न राजनीतिक नेताहरूले यसलाई सार्वभौम राष्ट्रमाथिको हस्तक्षेप भन्दै विरोध जनाइरहेका बेला धरानका मेयर साम्पाङले पनि सामाजिक सञ्जालमार्फत आफ्नै शैलीमा असन्तुष्टि व्यक्त गरेका हुन्।

सोमबार फेसबुकमा उनले लेखेका छन्,
“हेलो यूएन !!! भेनेजुएलामाथिको अमेरिकी आक्रमणबारे के सोच्दै हुनुहुन्छ ? तिम्रो कथित लोकतन्त्र कहाँ छ ?”

अन्तर्राष्ट्रियस्तरमा भने अमेरिकाको यस कदमलाई चीन, रुस तथा अन्य केही मुलुकहरूले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रको ठाडो उल्लंघन भएको भन्दै कडा आलोचना गरेका छन्।