वीरगञ्ज। विभिन्न धार्मिक समुदायले वीरगञ्जलगायतका स्थानमा गरेको प्रदर्शनको समाचार संकलनका क्रममा सञ्चारकर्मीमाथि आक्रमण तथा दुर्व्यवहार भएको घटनाप्रति नेपाल पत्रकार महासंघ, पर्सा शाखाले गम्भीर ध्यानाकर्षण जनाएको छ।

महासंघले जारी गरेको प्रेस विज्ञप्तिमा भोजपुरी टाइम्स दैनिकका कार्यकारी सम्पादक श्रवण साहमाथि भएको आक्रमणको कडा निन्दा गरिएको छ। विज्ञप्तिअनुसार शान्तिपूर्ण प्रदर्शनको दृश्य खिचिरहेका बेला केही प्रदर्शनकारीहरूले सञ्चारकर्मीको मोबाइल खोस्ने, कुटपिट गर्ने तथा समाचार संकलनमा अवरोध पुर्‍याउने जस्ता कार्य गरेका थिए।

पत्रकारमाथि भएको यस्तो आक्रमण प्रेस स्वतन्त्रता र नागरिकको सुसूचित हुने अधिकारमाथिको ठाडो हस्तक्षेप भएको महासंघले ठहर गरेको छ। घटनामा संलग्न दोषी व्यक्तिहरूलाई तत्काल पहिचान गरी कडा कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। महासंघले स्वतन्त्र प्रेसविरोधी गतिविधि तुरुन्त बन्द गर्न चेतावनीसमेत दिएको छ।

महासंघले धार्मिक तथा सामाजिक विषयमा समाचार प्रकाशन र प्रसारण गर्दा सञ्चारमाध्यमले विशेष संयम र सावधानी अपनाउनुपर्ने उल्लेख गर्दै पत्रकार आचारसंहिता–२०७३ (पहिलो संशोधन २०७६) अनुसार जाति, धर्म, भाषा, संस्कृति र समुदायबीच सामाजिक सद्भावमा खलल पुर्‍याउने सामग्री उत्पादन, प्रकाशन तथा प्रसारण गर्न नहुने स्पष्ट पारेको छ।

लाइभ प्रसारण तथा सामाजिक सञ्जालमार्फत प्रसारित सामग्रीले समुदायबीच नकारात्मक प्रभाव पार्न सक्ने भएकाले यसप्रति सञ्चारमाध्यमहरू थप सचेत हुनुपर्ने महासंघको धारणा छ। पछिल्लो समय पत्रकार आचारसंहिता विपरीत सामग्री प्रकाशन तथा प्रसारण गर्ने प्रवृत्ति बढ्दै गएकोप्रति पनि महासंघले चिन्ता व्यक्त गरेको छ।

महासंघले संवैधानिक अधिकार प्रयोग गर्दा धार्मिक तथा साम्प्रदायिक सद्भावमा असर नपर्ने गरी अभिव्यक्ति दिन, प्रेस स्वतन्त्रताको सम्मान गर्न, घटनाको निष्पक्ष छानबिन गरी पत्रकारको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गरेको छ।