बलिराम शुक्ला/ पर्सागढी, २१ पुस। पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा नमोबुद्ध युवा क्लब झाब्राहा विजयी भएको छ।

पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारको आयोजनामा भएको उक्त खेलमा पटेर्वासुगौली गाउँपालिका फुटबल क्लब, पर्सा र नमोबुद्ध युवा क्लब झाब्राहा, पर्सा आमनेसामने भएका थिए। निर्धारित समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो।

ट्राइब्रेकरमा नमोबुद्ध युवा क्लब झाब्राहाले ५–३ गोल अन्तरले पटेर्वासुगौली फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको हो।

आयोजक क्लबका अध्यक्ष राम थापाका अनुसार प्रतियोगिताअन्तर्गत भोलि थारु ११ फुटबल क्लब, बारा र वनशक्ति युवा क्लब, सिद्धपुर पर्साबीच प्रतिस्पर्धा हुने छ।

स्थानीयस्तरमा खेलकुद विकास र युवालाई खेलप्रति प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।