वीरगञ्ज। वीरगञ्जस्थित हरिखेतान बहुमुखी क्याम्पसमा व्यवस्थापन पक्षको मनोमानी निर्णय र निजीकरणको प्रयास भएको आरोप लगाउँदै विद्यार्थीहरूले सोमबारदेखि खुला रूपमा विरोध प्रदर्शन सुरु गरेका छन्।

विवादको मुख्य कारण क्याम्पस व्यवस्थापन समितिले सुष्मिता यादव नाम गरेकी महिलालाई संयोजक पदमा नियुक्ति दिएको निर्णयलाई लिएर उत्पन्न भएको हो। उक्त नियुक्ति प्रक्रिया अपारदर्शी भएको र व्यवस्थापन पक्षले आफ्ना नजिकका व्यक्तिलाई पद दिन खोजेको विद्यार्थीहरूको आरोप छ।

आज बिहानैदेखि विद्यार्थीहरू क्याम्पसको मुख्य गेटअगाडि भेला भई धर्नामा बसेका थिए। त्यसपछि उनीहरूले ठूलो संख्यामा र्‍याली निकाल्दै वीरगञ्ज बजारका विभिन्न मुख्य सडक परिक्रमा गरेका थिए। र्‍याली जिल्ला प्रशासन कार्यालय, पर्सा पुगेर धर्नामा परिणत भएको थियो। प्रदर्शनका क्रममा विद्यार्थीहरूले
‘क्याम्पस निजीकरण बन्द गर’, ‘व्यवस्थापन पक्षको मनोमानी मुर्दावाद’, ‘विद्यार्थी सुविधा बढाऊ’
जस्ता नाराहरू लगाएका थिए।

विद्यार्थीहरूको भनाइ अनुसार क्याम्पस प्रशासनले पटक–पटक पूर्वाधार विकास, कक्षाकोठा व्यवस्थापन, प्रयोगशाला सामग्री र विद्यार्थी यातायात सुविधाका लागि माग राख्दै आए पनि व्यवस्थापन पक्षले ती विषयलाई बेवास्ता गर्दै आएको छ। बरु व्यवस्थापनले तलब–भत्ता वितरणका लागि आफ्ना निकट व्यक्तिलाई नियुक्त गर्दै क्याम्पसलाई ‘भर्ती केन्द्र’ बनाउने प्रयास गरेको उनीहरूको गम्भीर आरोप छ।

विद्यार्थीहरूले व्यवस्थापन पक्षले क्याम्पस प्रशासनलाई अधिकारविहीन बनाउँदै सबै निर्णय आफूमा केन्द्रित गरेको भन्दै यसले शैक्षिक वातावरण बिग्रँदै गएको र विद्यार्थीको भविष्यसँग खेलवाड भइरहेको बताएका छन्।

आन्दोलनमा विद्यार्थी मात्र नभई क्याम्पसका केही शिक्षक, कर्मचारी तथा प्रशासन पक्षका व्यक्तिहरूले पनि व्यवस्थापन समितिको निर्णयविरुद्ध असन्तुष्टि जनाउँदै आन्दोलनमा साथ दिने चेतावनी दिएका छन्। मागहरू सम्बोधन नभए थप कडा कार्यक्रम र अनिश्चितकालीन तालाबन्दी गर्नेसमेत तयारी रहेको उनीहरूले बताएका छन्।

स्रोतका अनुसार हरिखेतान बहुमुखी क्याम्पसमा यसअघि पनि नियुक्ति प्रक्रिया, व्यवस्थापनको अपारदर्शिता र आर्थिक अनियमिततासम्बन्धी विवादहरू पटक–पटक उठ्दै आएका थिए।

विद्यार्थीहरूको मुख्य मागमा क्याम्पसलाई सार्वजनिक र गुणस्तरीय बनाउने, नियुक्ति प्रक्रियामा पारदर्शिता कायम गर्ने तथा विद्यार्थी सुविधामा पर्याप्त लगानी गर्ने विषय समावेश छन्।

यस विषयमा क्याम्पस व्यवस्थापन पक्षबाट भने हालसम्म कुनै आधिकारिक प्रतिक्रिया आएको छैन। जिल्ला प्रशासन कार्यालय पर्साले दुवै पक्षसँग छलफल गरी समस्या समाधानको प्रयास गरिने जनाएको छ।

यो पनी पढनुहोस

सुष्मिता यादव हरि खेतान माध्यमिक विद्यालयको प्रशासनिक प्रमुखमा नियुक्त