पर्सा, २१ पुस। पर्साको पोखरिया नगरपालिकाको १०औँ हिउँदे नगरसभा आज सम्पन्न भएको छ। पोखरिया नगरपालिकाको सभा हलमा आयोजित नगरसभाको उद्घाटन नगरप्रमुख प्रद्युमन चौहानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

नगरप्रमुख चौहानको अध्यक्षतामा सम्पन्न नगरसभामा उहाँले पोखरिया नगरपालिकाको समग्र विकासका लागि आफू निरन्तर लागिपरेको बताउनुभयो। मालपोत कार्यालय, नापी शाखा र प्रदेशिक अस्पताल नगरपालिकाभित्र ल्याउन सफल भएको उल्लेख गर्दै यसलाई महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। साथै, इलाका प्रशासन कार्यालय स्थापना सम्बन्धी प्रक्रिया पूरा भइसकेको र केही दिनमै सेवा सुरु हुने जानकारी दिनुभयो।

नगरसभामा ने.रा.मा.वि. महोबनीको नयाँ भवन निर्माणका लागि टेन्डर भइसकेको तथा जिल्ला उच्च माध्यमिक विद्यालय रामदेवको पुरानो भवनलाई नयाँ भवन निर्माणका लागि व्यवस्थापन गरिएको जानकारी दिइयो। त्यस्तै, नगर विकास समितिको सहयोगमा बजार क्षेत्रमा खटाल निर्माण तथा नगरभित्र उद्योग व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू समेत हिउँदे नगरसभाबाट पारित गरिएको जनाइएको छ।

नगरप्रमुख चौहानले राजनीतिक दल, जनप्रतिनिधि र कर्मचारीबीच समन्वय गरेर विकास निर्माणका काम अगाडि बढाइएको बताउनुभयो। यस वर्ष बजेट घटेका कारण केही विकास कार्यमा ढिलाइ भएको स्वीकार गर्दै, बजेटभन्दा बढी योजना समावेश भएकाले समस्या देखिएको उल्लेख गर्नुभयो। बाँकी रहेका विकास निर्माणका काम माघ महिनादेखि सुरु गरिने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।

हिउँदे नगरसभामा उपनगरप्रमुख रुबी ठाकुरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत धर्मानन्द जोशीले आफू हालै मात्र जिम्मेवारीमा आएको उल्लेख गर्दै, आफ्नो हस्ताक्षरबाट हुने कामलाई प्राथमिकतामा राखी जनताको सेवा छिटो र छरितो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। बजेट निर्माणमा समयमै ध्यान नपुग्दा नेपाल सरकारबाट आउनेभन्दा बढी बजेट बनेको उल्लेख गर्दै आगामी दिनमा बजेट संशोधन गरी विकासका काम अगाडि बढाइने बताउनुभयो।

विशेष नगरसभामा वडाध्यक्षहरू लक्ष्मण साह कानु, नौसाद आलम, प्रमोद गिरी, केदार प्रसाद, महेन्द्र महतो, शियानन्द चौहान, प्रमानन्द पटेल, किसोरी साह, कार्यपालिका सदस्यहरू रामबचन महतो, अजय साहलगायतले हिउँदे नगरसभाको सफलताको शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, लेखापाल मन्दिप महतो, योजना शाखा प्रमुख संजय पाण्डे, अधिकृत विजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरविन्द दुबेदी, सन्दीप साह, भगवान साह, सामाजिक शाखा प्रमुख वाल्मीकि साह, पत्रकार, सुरक्षाकर्मी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। नगरसभाको कार्यक्रम स्वास्थ्य शाखा सह–संयोजक शिवसिंह पटेलले सञ्चालन गर्नुभएको थियो।