पर्सा, २२ पुष — धनुषाको कमला नगरपालिका–६ सखुवा मराडस्थित एक मस्जिदमा तोडफोड र मुस्लिम धर्मग्रन्थ कुरान जलाइएको घटनापछि उत्पन्न तनावका कारण अशान्त बनेको पर्साको वीरगन्जमा पुनः कर्फ्यु आदेश थप गरिएको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार मंगलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कर्फ्यु आदेशको समय थप गरिएको हो। यसअघि सोमबार साँझ ६ बजेदेखि मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु लगाइएको थियो। त्यसभन्दा अघि सोमबार दिउँसो १ बजेदेखि वीरगन्ज महानगरको शहरी क्षेत्रमा निषेधाज्ञा जारी गरिएको थियो।

पछिल्लो सुरक्षा अवस्थालाई मध्यनजर गर्दै कर्फ्युको समय थप गरिएको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए।

दुई फरक समुदायबीच प्रदर्शन जारी रहेपछि आइतबारदेखि नै वीरगन्ज तनावग्रस्त बनेको छ। शनिबार धनुषाको मस्जिदमा भएको तोडफोड र कुरान जलाइएको घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि वीरगन्जमा पनि आइतबारदेखि विरोध प्रदर्शन सुरु भएको हो।

मस्जिद तोडफोडको विरोधमा आइतबार बिहान मुस्लिम समुदायले वीरगन्जका विभिन्न स्थानमा टायर बाल्दै प्रदर्शन गरेका थिए। उनीहरूले घटनामा संलग्नलाई कानुनी कारबाही गर्न माग गरेका छन्।

त्यसको प्रतिवादस्वरूप आइतबार साँझ हिन्दु समुदायका युवाहरूले मोटरसाइकल जुलुश निकाल्दै प्रदर्शन गरेका थिए। सामाजिक सञ्जालमा हिन्दु धर्मप्रति आपत्तिजनक टिप्पणी गर्नेहरूमाथि कारबाही हुनुपर्ने उनीहरूको माग थियो।

सोमबार बिहान पुनः हिन्दु समुदायका युवाहरूले नाराबाजी गर्दै प्रदर्शन गरेपछि वीरगन्ज–३ छपकैया क्षेत्रमा मुस्लिम समुदायका युवाहरू पनि भेला भई नाराबाजी गरेका थिए। स्थिति तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले सोमबार दिउँसो १ बजेदेखि निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको खबर सार्वजनिक भएलगत्तै माईस्थान मन्दिर क्षेत्रमा भेला भएका हिन्दु समुदायका युवाहरू पुनः नाराबाजी गर्दै सडकमा निस्किएका थिए। आदर्शनगर हुँदै विर्तातर्फ अगाडि बढेका उनीहरू मकालु होटल चोकमा पुग्दा प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गर्दा प्रदर्शनकारीहरूले ढुंगामुढा गरेका थिए। त्यसपछि प्रहरीले थप लाठीचार्जसँगै अश्रुग्यास प्रहार गरेको थियो, जसले अवस्था झनै तनावग्रस्त बनाएको थियो।

त्यसपछि प्रदर्शनकारीहरूको एक समूह वीरगन्जको लाठगल्ली क्षेत्रमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरी रोकेको थियो। सो क्रममा पनि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो।