पर्सागढी, २२ पुस। पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल प्रतियोगिताको चौथो दिनको खेलमा बनशक्ति युवा क्लब सिद्धपुर, पर्सा विजयी भएको छ।

पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारको आयोजनामा सम्पन्न उक्त खेलमा थारु ११ फुटबल क्लब, बारा र बनशक्ति युवा क्लब सिद्धपुर, पर्साबीच प्रतिस्पर्धा भएको थियो। खेलमा बनशक्ति युवा क्लबले ३–० गोल अन्तरले थारु ११ फुटबल क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनल चरणमा प्रवेश गरेको हो।

बनशक्ति युवा क्लबको जितमा जर्सी नं. १५ का सन्दीप चौधरीले खेलको पहिलो हाफमा एक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जर्सी नं. १० का आशिक उराँवले दोस्रो हाफमा दुई गोल थप्दै टिमको जित सुनिश्चित गरेका थिए।

आयोजक क्लबका सचिव हरि थापाका अनुसार प्रतियोगिताअन्तर्गत भोलि पहिलो सेमिफाइनल खेल पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहार र नमोबुद्ध युवा क्लब झाब्राहाबीच हुने छ।

स्थानीयस्तरमा खेलकुदको विकास र युवालाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा दर्शकहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ।