काठमाडौँ। राष्ट्रिय मानवअधिकार आयोगले साम्प्रदायिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक हिंसा भड्किन सक्ने सम्भावित घटनालाई रोक्न र सामाजिक सद्भाव कायम राख्न नेपाल सरकारलाई निर्देशन दिएको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलद्वारा मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा सम्भावित हिंसात्मक घटनालाई रोक्न सरकारलाई संवेदनशील र संयमित भएर कार्य गर्न तथा घटनामा संलग्न दोषीहरूलाई कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिइएको छ।

विज्ञप्तिमा व्यक्तिको मान–मर्यादा, प्रतिष्ठा तथा सामाजिक र सांस्कृतिक ऐक्यबद्धताको सम्मान गर्दै विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्न आग्रह गरिएको छ। आयोगले घटनाको गम्भीरताप्रति संवेदनशील रहँदै संयमता अपनाउन, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्ने गतिविधिमा संलग्न हुन सबै पक्षलाई अनुरोध गरेको छ।

आयोगले राजनीतिक दल, धार्मिक संघ–संस्था, धर्मगुरु, धार्मिक तथा सामाजिक अभियन्ता र नागरिक समाजलाई सामाजिक सद्भाव कायम हुने क्रियाकलाप गर्न आह्वान गर्दै, आपसी विमतिहरूको समाधान वार्ताको माध्यमबाट खोज्न समेत आग्रह गरेको छ।