पर्सा। नेकपा (एमाले) पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा विवाद उत्पन्न भएको छ। पोखरियामा मंगलबार बसेको बैठकमा १० जनाको नाम सिफारिस गर्ने सहमति भए पनि माइन्युट तयार पार्ने क्रममा विवाद चर्किएको हो।

जिल्ला अध्यक्ष डा. विश्वभर शर्माका अनुसार बैठकले पूर्वमन्त्री राजकुमार गुप्ता, भगवान कुर्मी, शिव पटेल, मन्जुर अन्सारी, तेजप्रसाद निषाद, प्रमोद कुशवाहा, मनिर आलम, मञ्जु देवी, रामबाबू यादव र रूपेश पाण्डेयको नाम उम्मेदवार सिफारिस सूचीमा समावेश गरेको थियो।

तर माइन्युट तयार पार्ने क्रममा रूपेश पाण्डेयको नाममा विवाद उत्पन्न भएको थियो। बैठकमा उपस्थित केही एमाले कार्यकर्ताहरूले पाण्डेय एमालेको औपचारिक सदस्य नभएको अवस्थामा उनको नाम सिफारिस गरिएकोप्रति आपत्ति जनाएका थिए। विवादका क्रममा सहमति भइसकेको माइन्युट बुक खोस्ने प्रयाससमेत भएको बताइएको छ। यद्यपि, क्षेत्रीय सभापति फरमान मियाँले माइन्युट सुरक्षित राख्दै आफ्नो नियन्त्रणमा लिएको जनाइएको छ।

पाण्डेय र गुप्ताको नाममा विवाद

माइन्युट तयार भएपछि पूर्वमन्त्री राजकुमार गुप्ताका समर्थकहरूले पनि पाण्डेय एमाले सदस्य नरहेको भन्दै असन्तुष्टि जनाएका थिए। यसबारे जिल्ला अध्यक्ष डा. शर्माले उम्मेदवार सिफारिसका लागि अनिवार्य रूपमा एमाले सदस्य हुनैपर्ने प्रावधान नभएको स्पष्ट पार्नुभयो। उनका अनुसार गैर–एमाले व्यक्तिको नाम पनि उम्मेदवार सिफारिस हुन सक्ने व्यवस्था पार्टीभित्र रहेको छ।

डा. शर्माले पाण्डेय निकट भविष्यमा एमाले प्रवेश गर्ने तयारीमा रहेको र क्षेत्रीय समितिबाट पनि उनको नाम सिफारिस भएर आएकाले सूचीमा समावेश गरिएको बताए।

यसैबीच, पूर्वमन्त्री राजकुमार गुप्ताको नाममा पनि बैठकमा विवाद उठेको थियो। भ्रष्टाचारसम्बन्धी मुद्दामा अदालतबाट पुर्पक्षका लागि जेलमा रहेका गुप्ताको नाम सिफारिस गर्नु पार्टी विधानविपरीत भएको भन्दै केही नेताहरूले आपत्ति जनाएका थिए।

एमालेका केन्द्रीय सदस्य प्रभु हजराले जेलमा सजाय भोगिरहेका व्यक्तिलाई पार्टी विधानअनुसार अयोग्य ठहर गरिने भएकाले गुप्ताको नाम सिफारिस हुनु गलत भएको बताएका छन्। पार्टीले अयोग्य ठहर भएकाहरूको हकमा उम्मेदवार सिफारिस नगर्न निर्देशन जारी गरिसकेको उनको दाबी छ।

यद्यपि, विवादका बाबजुद पूर्वमन्त्री गुप्ताको नाम यसअघि पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट पनि सिफारिस भइसकेको छ भने मंगलबार क्षेत्र नम्बर–३ बाट समेत सिफारिस गरिएको छ।

घटनाले एमाले पर्सा–३ भित्र उम्मेदवार चयन प्रक्रियामा आन्तरिक मतभेद र असन्तुष्टि सतहमा आएको देखाएको छ।