पर्सा। पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवन निवासी तथा नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, मटिअर्वा (बारा) मा कार्यरत शिक्षक सुरज पण्डितले स्थानीय तहका जनप्रतिनिधिहरूको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। शिक्षा क्षेत्रको विकासका नाममा शिक्षकलाई मात्र दोषारोपण गर्ने तर विद्यालयको भौतिक पूर्वाधार र विपद् व्यवस्थापनमा गम्भीर ध्यान नदिने प्रवृत्ति बढ्दै गएको भन्दै उनले आक्रोश व्यक्त गरेका हुन्।

शिक्षाको जिम्मेवारी स्थानीय तहलाई हस्तान्तरण भएको आठ वर्ष बितिसक्दा पनि विद्यालयलाई मौसमअनुकूल बनाउने कुनै ठोस योजना नबनाइएको पण्डितको आरोप छ। जाडोमा शीतलहर र गर्मीमा प्रचण्ड ‘लु’का कारण पठनपाठन प्रभावित हुँदै आए पनि विद्यालयलाई सुरक्षित राख्न न त योजना बनाइएको छ, न त बजेट नै विनियोजन गरिएको उनले बताए।

गुणस्तरीय शिक्षाका लागि अनुकूल वातावरण सिर्जना गर्नु जनप्रतिनिधिहरूको प्रमुख दायित्व भएको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर चिन्तन र पहल नदेखिएको आरोप लगाए।

थर्काउने मेयर, निरीह विद्यालय

जनप्रतिनिधि, विशेषगरी नगरप्रमुखहरूको व्यवहारप्रति टिप्पणी गर्दै शिक्षक पण्डितले विद्यालयका वास्तविक समस्या समाधान गर्नुको सट्टा प्रधानाध्यापकलाई बोलाएर धम्क्याउने र थर्काउने शैली अपनाइएकोप्रति आपत्ति जनाएका छन्।
उनका अनुसार २०७४ सालदेखि नै विद्यालय सुधार र विपद् व्यवस्थापनमा लगानी गरिएको भए आज धेरै समस्या समाधान भइसकेका हुने थिए।

“जनप्रतिनिधिहरूमा शिक्षकले धेरै बिदा पाए भनेर मात्र चिन्ता देखिन्छ,” उनले भने, “तर कक्षाकोठामा चीसोले काँपिरहेका विद्यार्थी, भत्किएका झ्यालढोका र असुरक्षित भवनतर्फ उनीहरूको ध्यान किन जाँदैन ?”

विद्यार्थीको दयनीय अवस्था, अभिभावकको मौनता

शिक्षक पण्डितले सरकारी विद्यालयहरूको भौतिक अवस्था अत्यन्त कमजोर रहेको उल्लेख गरेका छन्। व्यवस्थित झ्यालढोका नभएका कक्षाकोठा, न्यानो कपडाको अभाव र चप्पलमै कठोर जाडो झेल्न बाध्य विद्यार्थीहरूको अवस्थाप्रति जनप्रतिनिधिहरू गम्भीर नबनेको उनको भनाइ छ।

साथै, उनले अभिभावकहरूको भूमिकामाथि पनि प्रश्न उठाउँदै विद्यालयको यस्तो दयनीय अवस्थाबारे जनप्रतिनिधिलाई जवाफदेही बनाउन नसक्नु अभिभावकहरूको पनि कमजोरी भएको बताए।

“बढी चिसो भयो विद्यालय बन्द, बढी गर्मी भयो विद्यालय बन्द— यस्तो अवस्था अब दोहोरिनु हुँदैन,” उनले भने, “सबै खाले मौसममा पठनपाठन सञ्चालन गर्न सक्ने वातावरणमैत्री कक्षाकोठा निर्माणमा जनप्रतिनिधिको पहल अपरिहार्य छ।”

शिक्षक पण्डितले सामुदायिक विद्यालयहरूलाई सुरक्षित, अनुकूल र वातावरणमैत्री बनाउने दिशामा तत्काल ठोस योजना र बजेट सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेका छन्।