धनगढी। केही दिनयता यहाँ अत्यधिक चीसो बढ्दै गएपछि दैनिक ज्याला मजदूरी गरेर जीवन निर्वाह गर्दै आएका गरीब तथा मजदूर वर्गको जनजीवन प्रभावित भएको छ। चीसो हावा, बाक्लो हुस्सु र कुहिरोसँगै चलेको शीतलहरका कारण बिहान–बेलुकाको छाक टार्न संघर्ष गरिरहेका वर्ग झनै कठिन परिस्थितिमा परेका हुन्।

अत्यधिक चीसोका कारण काम गर्न नै गाह्रो भएको धनगढीका स्थानीय मजदूर रामकिशन चौधरीले बताए। “वर्षौँदेखि मजदूरी गरेर नै जीवन गुजारा गर्दै आएको छु। एक दिन काम गर्न छोडियो भने चुलो बल्दैन,” उनले भने, “हिजोआज चीसो धेरै छ, काम गर्न निकै गाह्रो हुन्छ, तर बाध्यता पनि छ—काम नगरे छाक टार्नै मुस्किल पर्छ।”

त्यस्तै, मजदूरी गरेर जीविकोपार्जन गर्दै आएका हरि रानाले पनि चीसो बढेपछि काम गर्न कठिन भएको गुनासो गरे। “कठ्याङ्ग्रिने जाडोले काम गर्न समस्या भइरहेको छ,” उनले भने, “दैनिक काम नगरे आम्दानी हुँदैन, आम्दानी नभए परिवार चलाउन गाह्रो हुन्छ। त्यसैले जति चीसो भए पनि काममा निस्किनु पर्ने बाध्यता छ।”

अत्यधिक चीसोका कारण मजदूर मात्र नभई बालबालिका, वृद्धवृद्धा र विद्यार्थी वर्ग पनि प्रभावित भएका छन्। चीसो बढेर विद्यालयमा बालबालिकालाई पठनपाठनमा समस्या देखिन थालेपछि केही दिन विद्यालय बिदा दिनुपर्ने कतिपय अभिभावकहरूको भनाइ छ।

जाडोका कारण बजार क्षेत्रमा समेत चहलपहल घटेको छ। अत्यधिक चीसोलाई मध्यनजर गर्दै केही दिनअघि धनगढी उपमहानगरपालिका र डिभिजन वन कार्यालयले धनगढी बजार आसपासका विभिन्न चोकहरूमा निःशुल्क दाउरा वितरण गरेको थियो।

स्थानीयवासीहरूले शीतलहरको प्रभाव अझै केही दिन कायम रहने अनुमान गर्दै जोखिममा रहेका वर्गका लागि थप राहत र सहयोग कार्यक्रम आवश्यक रहेको बताएका छन्।