बलिराम शुक्ला/ पर्सागढि, २३ पुस। पर्साको पर्सागढि नगरपालिका वडा नं. ३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा आयोजक टिम पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहार विजयी भएको छ।

आज सम्पन्न सेमिफाइनल खेलमा पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहारले नमोबुद्ध युवा क्लब झाब्राहालाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो। खेलको पहिलो हाफमा नमोबुद्ध युवा क्लबका जर्सी नं. १७ का सुरेश तामाङले पहिलो गोल गरेका थिए। त्यसपछि पर्सागढि युवा स्पोर्ट्स क्लबका जर्सी नं. ७ का रिजन क्षेत्रीले गोल गर्दै खेल बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा पर्सागढि युवा स्पोर्ट्स क्लबका जर्सी नं. १८ का आशिष ताम्राकारले निर्णायक गोल गर्दै टिमलाई २–१ को अग्रता दिलाए। खेल सकिन एक मिनेट बाँकी रहँदा नमोबुद्ध युवा क्लबले गरेको गोललाई रेफ्रीले फाउल मानेपछि दर्शकबीच केही बेर होहल्ला भएको थियो। अन्ततः रेफ्रीले खेल समाप्त भएको घोषणा गरेपछि खेल शान्तिपूर्ण रूपमा सम्पन्न भयो।

यस जितसँगै आयोजक टिम पर्सागढि युवा स्पोर्ट्स क्लब बडनिहार प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ।
भोलि हुने दोस्रो सेमिफाइनल खेल पर्सा राइडर फुटबल क्लब खजुरिया र बनशक्ति युवा क्लब सिद्धपुरबीच हुने आयोजक क्लबका सचिव हरि थापाले जानकारी दिएका छन्।