काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका छन्। बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले औपचारिक रूपमा राजीनामा पत्र बुझाएको स्रोतले जनाएको छ।

घिसिङ गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए। उनलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको समेत अतिरिक्त जिम्मेवारी दिइएको थियो। राजनीतिमा सक्रिय हुने निर्णय गरेपछि प्रधानमन्त्री कार्कीले उनलाई मार्गप्रशस्त गर्न सुझाव दिएकी थिइन्।

गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच सातबुँदे सहमति भएको थियो। सो सहमतिअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै पक्ष सँगै जाने र घिसिङ रास्वपाको दोस्रो वरीयताका नेतासहित उपसभापति बन्ने सहमति भएको जनाइएको छ।