पर्सा,२४ पुस। आगामी फाल्गुन २१ गते हुने निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण तथा सुरक्षित रूपमा सम्पन्न गर्न नेपाल प्रहरीले म्यादी प्रहरी (यस वर्षदेखि ‘निर्वाचन प्रहरी’) भर्ना प्रक्रिया भोलिदेखि सुरु गर्ने भएको छ। निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउने उद्देश्यसहित नेपाल प्रहरीले इच्छुक नेपाली नागरिकहरूबाट आवेदन आह्वान गरेको हो।

नेपाल प्रहरीका अनुसार यस पटक देशभरका लागि कुल १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गरिनेछ। प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार भर्नाका लागि १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको नेपाली नागरिक हुनुपर्नेछ।

भर्ना प्रक्रिया २०८२ साल पौष २५ गते शुक्रबारदेखि माघ १ गतेसम्म सञ्चालन हुनेछ। आवेदन दर्ता बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुनेछ भने सार्वजनिक बिदाका दिनमा समेत प्रक्रिया जारी रहने नेपाल प्रहरीले जनाएको छ।

आवश्यक योग्यता र मापदण्ड

म्यादी प्रहरीमा भर्ना हुन इच्छुक उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ र साधारण लेखपढ गर्न जान्ने हुनुपर्नेछ। साथै, नैतिक पतन देखिने कुनै फौजदारी अभियोगमा अदालतबाट सजाय नपाएको, भर्ना हुने समयमा कुनै पनि राजनीतिक दलको सदस्य नरहेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ रहेको, तथा आतंककारी वा विध्वंसात्मक संगठनको सदस्य नरहेको हुनुपर्ने स्पष्ट गरिएको छ।

शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको हकमा न्यूनतम उचाइ ५ फिट, छाती ३१–३३ इन्च र तौल कम्तीमा ५० केजी हुनुपर्नेछ। महिला उम्मेदवारको हकमा न्यूनतम उचाइ ४ फिट १० इन्च, तौल कम्तीमा ४२ केजी हुनुपर्नेछ भने गर्भवती नभएको हुनुपर्ने प्रावधान राखिएको छ।

पूर्वसुरक्षाकर्मी, यसअघि म्यादी प्रहरीका रूपमा खटिएका, छिमेकी मुलुकका सुरक्षा निकायबाट अवकाश प्राप्त तथा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण व्यक्तिलाई प्राथमिकता दिइने नेपाल प्रहरीले जनाएको छ। फौजदारी कसुरमा सजाय नपाएको र नैतिक पतन नभएको हुनुपर्ने मापदण्ड पनि अनिवार्य गरिएको छ।

सेवा अवधि र सुविधा

छनोट भएका निर्वाचन प्रहरीलाई १० दिनको तालिम प्रदान गरी करिब एक महिनासम्म निर्वाचन सुरक्षामा परिचालन गरिनेछ। उनीहरूले ४० दिनको तलब प्रहरी जवान सरह पाउनेछन्। साथै, पोसाक, चार दिनको खाजा भत्ता, तयारी भत्ता तथा रासन सुविधासमेत उपलब्ध गराइनेछ।

यसअघि ‘म्यादी प्रहरी’ भनेर चिनिने जनशक्तिलाई यस पटक पहिलो पटक औपचारिक रूपमा ‘निर्वाचन प्रहरी’ नाम दिइएको हो।

जिम्मेवारी र आवेदन प्रक्रिया

योग्यता पूरा गरेका इच्छुक व्यक्तिहरूले तोकिएको समयभित्र आवश्यक कागजातसहित नजिकको प्रहरी कार्यालयमा उपस्थित भई आवेदन दिन सक्नेछन्। छनोट भएका निर्वाचन प्रहरीहरूलाई मतदान केन्द्रको सुरक्षा, शान्ति सुव्यवस्था कायम गर्ने, निर्वाचन सामग्रीको सुरक्षा तथा अन्य आवश्यक सुरक्षासम्बन्धी जिम्मेवारीहरूमा खटाइनेछ।

नेपाल प्रहरीले योग्य, सक्षम तथा इच्छुक नागरिकहरूलाई निर्वाचन प्रहरी सेवामा सहभागी भई राष्ट्रको महत्वपूर्ण निर्वाचन प्रक्रियामा योगदान दिन आग्रह गरेको छ। भर्नासम्बन्धी थप जानकारीका लागि नजिकको प्रहरी कार्यालय वा सम्बन्धित निकायमा सम्पर्क गर्न सकिने जनाएको छ।