पर्सागढी, २४ पुस । पर्साको पर्सागढी नगरपालिका–३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनल खेलमा पर्साराइडर फुटबल क्लब खजुरिया विजयी भएको छ।

पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारद्वारा आयोजित सेमिफाइनल खेलमा पर्साराइडर फुटबल क्लब खजुरियाले बनशक्ति युवा क्लब सिद्धपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको हो।

खेलको दोस्रो हाफमा पर्साराइडरका जर्सी नम्बर २१ का निरज थापा मगरले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि जर्सी नम्बर ७ का समिन क्षेत्रीले दोस्रो गोल गरे भने जर्सी नम्बर १२ का सागर चौधरीले तेस्रो गोल गर्दै निर्णायक जित सुनिश्चित गरे।

यस जितसँगै पर्साराइडर फुटबल क्लब खजुरिया फाइनलमा प्रवेश गरेको छ। आयोजक क्लबका अध्यक्ष राम थापाका अनुसार फाइनल खेल पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहार र पर्साराइडर फुटबल क्लब खजुरिया बीच बडनिहार खेलमैदानमै दिउँसो २ बजे आयोजना हुनेछ।

प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई आयोजकले क्रमशः ३० हजार र २० हजार रुपैयाँ नगदसहित शिल्ड र मेडल प्रदान गर्ने जनाएको छ।