बारा, २४ पुस: बारामा प्रहरीले लागूऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ निवासी ३८ वर्षीय निलेश पटेल कुर्मी, वीरगन्ज महानगरपालिका वडा नं. ११ निवासी ३२ वर्षीय जौवाद अहमद र पर्साकै बिन्दाबासिनी गाउँपालिका वडा नं. २ निवासी ४८ वर्षीय शेषनाथ चौरसिया रहेका छन्।

बिहीबार अपरान्ह इलाका प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले बाराको प्रसौनी गाउँपालिका–१ नकटुवास्थित पतञ्जलीबाट नकटुवा तर्फ जाँदै गरेको बीआर ०१ सीएल ६०७९ नम्बरको कारलाई रोकी चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा कारको पछाडिको सिटमाथि राखिएको कालो प्लास्टिकभित्र लागूऔषध अफिम २ किलो २४ ग्राम फेला परेपछि चालकसहित कारमा सवार तीनै जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।