बाँके । बाँकेको डुडुवा गाउँपालिका–४ मा कक्षा ९ मा अध्ययनरत १६ वर्षीया बालिकामाथि भएको अपहरण तथा सामूहिक बलात्कारको घटनाप्रति संघीय लोकतान्त्रिक गठबन्धनले गम्भीर आपत्ति जनाएको छ। गठबन्धनले उक्त घटनामा संलग्न दोषीहरूलाई कुनै पनि हालतमा कडा कानुनी सजाय दिन सरकारसँग जोडदार माग गरेको छ।

घटनामा संलग्न रहेको आरोपमा सद्दाम खान, मैनुदिन खान, समीर खान, फिरोज खान र साहिद खानविरुद्ध बालिकालाई अपहरण गरी सामूहिक बलात्कार गरेको उजुरी दर्ता भएको छ। जारी प्रेस विज्ञप्तिमा गठबन्धनले यस घटनालाई अमानवीय तथा घृणित अपराधको संज्ञा दिँदै संविधान, कानुनको शासन र लोकतान्त्रिक मूल्य–मान्यतामाथिको प्रत्यक्ष आक्रमण भएको उल्लेख गरेको छ। अपराधीको कुनै जात, धर्म वा राजनीतिक पहिचान नहुने स्पष्ट गर्दै दोषीलाई कुनै बहानामा उन्मुक्ति दिन नहुने चेतावनी समेत दिइएको छ।

गठबन्धनले अपराधीलाई जातीय, धार्मिक वा राजनीतिक संरक्षण दिइए दण्डहीनता मौलाउने र न्याय प्रणाली कमजोर हुने बताएको छ। कसैले पद, पहुँच वा शक्तिको आडमा अपराधीलाई जोगाउन खोजेमा त्यस्ता व्यक्तिलाई समेत समान रूपमा कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरिएको छ। घटनाले राज्यको सुरक्षा संयन्त्र र न्यायिक प्रणालीको प्रभावकारितामाथि गम्भीर प्रश्न उठाएको गठबन्धनको निष्कर्ष छ।

न्याय सुनिश्चित गर्न गठबन्धनले पाँच बुँदे माग अघि सार्दै आरोपित सबैलाई तत्काल पक्राउ गरी निष्पक्ष तथा पारदर्शी अनुसन्धान गर्न आग्रह गरेको छ। साथै पीडित बालिकालाई निःशुल्क उपचार, कानुनी सहायता र पर्याप्त सुरक्षा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराइएको छ। मानवअधिकार संस्थाहरूलाई घटनाको सक्रिय अनुगमन गर्न आह्वान गर्दै यौनजन्य अपराधप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्न माग गरिएको छ। पीडितले न्याय नपाएसम्म सडकदेखि सदनसम्म संघर्ष जारी राख्ने चेतावनीसमेत गठबन्धनले दिएको छ।Source : Ratopati