वीरगञ्ज । उज्यालो नेपाल पार्टी (उनेपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बीच सहकार्य तथा एकताको सम्भावना औपचारिक रूपमा समाप्त हुने अवस्थामा पुगेको छ। लोकतान्त्रिक मूल्य–मान्यतामा पुनर्विचार गर्दै नयाँ राजनीतिक सिद्धान्त निर्माण गर्नुपर्ने उज्यालो नेपाल पार्टीको प्रस्तावमा रास्वपाले असहमति जनाएपछि दुई दलबीच सहकार्य अघि नबढ्ने निष्कर्षमा पुगेको हो।

शनिबार भएको एकता सम्बन्धी छलफलमा रास्वपाले आफूहरू व्यवस्था परिवर्तन होइन, अवस्था परिवर्तनको अभियानमा केन्द्रित रहेको स्पष्ट पारेको थियो। रास्वपाले वर्तमान संविधान, संघीयता, धर्मनिरपेक्षता र लोकतान्त्रिक गणतान्त्रिक संरचनाप्रति असहमति नरहेको बताएको थियो। तर यी विषयमा उज्यालो नेपाल पार्टीले फरक धारणा राखेपछि साझा आधार तय हुन नसकेको स्रोतको भनाइ छ।

छलफलपछि रास्वपाका प्रवक्ता मनीष झाले संगठनात्मक संरचना र पदाधिकारीको विषयमा समेत सहमति नजुटेको जानकारी दिएका छन्। उनका अनुसार उज्यालो नेपाल पक्षले हालको संरचनामा थप तीन पद सिर्जना गर्नुपर्ने, वरिष्ठ उपसभापतिको जिम्मेवारी कुलमान घिसिङलाई दिनुपर्ने तथा थप एक महामन्त्री पद उज्यालो नेपाल पार्टीको भागमा पर्नुपर्ने माग राखेको थियो, तर ती प्रस्तावहरूमा रास्वपा सहमत हुन सकेन।

त्यसैगरी, आगामी निर्वाचनमा प्रत्यक्ष उम्मेदवारीका लागि सिट बाँडफाँट पहिल्यै तय गर्नुपर्ने उज्यालो नेपाल पार्टीको माग तथा भविष्यमा सरकार गठन हुँदा राज्यका अवसरहरूको भागबन्डा अहिले नै निर्धारण गर्नुपर्ने प्रस्तावमा पनि रास्वपाले विमति जनाएको छ। रास्वपा दीर्घकालीन रूपमा देश परिवर्तनको अभियानमा रहेकाले एक निर्वाचन र त्यसको परिणाममा मात्र छलफल सीमित गर्न नहुने धारणा राख्दै आएको बताइएको छ।

यस्ता विषयमा सहमति हुन नसकेपछि दुवै दलबीचको सहकार्य औपचारिक रूपमा टुंग्याउने घोषणा मात्र बाँकी रहेको स्रोतको भनाइ छ। यद्यपि उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले आफ्नो पक्षबाट निर्णय भइसकेको भए पनि रास्वपाको औपचारिक जवाफ आउन बाँकी रहेको बताएका छन्।