वीरगञ्ज । पर्सा जिल्लाका विभिन्न स्थानीय तहका किसानहरू पछिल्लो समय नीलगाई (घोडगधा)को बढ्दो आतंकका कारण गम्भीर समस्यामा परेका छन्। नीलगाईले गहुँ, हरिया तरकारीदेखि उखुबालीसम्म व्यापक रूपमा क्षति पुर्‍याउँदा किसानहरूको उत्पादन घट्दै गएको छ।

पोखरिया नगरपालिका, कालिकामाई, सखुवा प्रसौनी, पटेर्वा सुगौली, छिपहरमाई, विन्ध्यवासिनी, जगरनाथपुर र जीराभवानी गाउँपालिकालगायतका क्षेत्रमा नीलगाईको समस्या दिनप्रतिदिन तीव्र बन्दै गएको किसानहरूको भनाइ छ। खेतमा मानिसको उपस्थिति नहुँदा बिहान र बेलुकीको समयमा नीलगाईहरू समूह बनाएर खेतमा पस्ने, बाली चराउने र कुल्चिने गर्दा ठूलो क्षति हुने गरेको जनाइएको छ।

स्थानीय किसान गोरख महतोका अनुसार नीलगाईहरू १५ देखि २० वटासम्मको समूहमा खेतमा आउने गरेका छन्। “नीलगाईले गहुँ र तरकारी बाली पूर्ण रूपमा नष्ट गर्छन् भने उखुबालीमा पनि ठूलो क्षति पुर्‍याउँछन्,” उनले बताए। उनका अनुसार नीलगाईहरू दिनभर उखुबारी वा नदी किनार क्षेत्रमा लुकेर बस्ने र बिहान–साँझ खेततर्फ आउने गर्छन्।

किसानहरूका अनुसार खेतमा बिहान जानुअघि र साँझ फर्किएपछि नीलगाईले बढी क्षति पुर्‍याउने गरेका छन्। यसले उत्पादन लागत बढ्नुका साथै खेतीप्रतिको उत्साह घट्दै गएको उनीहरूको गुनासो छ।

नीलगाईबाट बाली जोगाउन किसानहरूले पछिल्लो समय खेतमा विद्युतीय साइरन जडान गर्न थालेका छन्। मानव आवाजजस्तै ध्वनि निस्कने उक्त साइरनका कारण नीलगाई खेततर्फ नआउने विश्वास गरिएको छ। किसानहरूका अनुसार हाल यो उपाय केही हदसम्म प्रभावकारी देखिएको छ।

यद्यपि नीलगाईको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सम्बन्धित निकायले ठोस योजना र प्रभावकारी व्यवस्थापन गर्नुपर्ने माग किसानहरूले गरेका छन्।