पर्सागढी । पर्सा जिल्लाको पर्सागढी नगरपालिका–३ बडनिहारस्थित खेलमैदानमा जारी पाँचौँ नकआउट फुटबल टुनामेन्ट अन्तर्गत आज हुने भनिएको फाइनल खेल अन्तिम समयमा आएर स्थगित भएको छ। फाइनल खेल हेर्न आएका दर्शक खेल स्थगित भएपछि आक्रोशित भएका थिए।

यसअघि पुस २३ गते बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेल आयोजक पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहार र नमोबुद्ध युवा क्लब झाब्राहा बीच भएको थियो। खेलको अन्तिम समयमा नमोबुद्ध युवा क्लबले गरेको गोललाई रेफ्रीले अमान्य गरेपछि नमोबुद्ध समर्थक दर्शकहरू मैदानभित्र प्रवेश गरी होहल्ला गरेका थिए। त्यसपछि मुख्य रेफ्रीले खेल समाप्त भएको घोषणा गर्दै २–१ गोल अन्तरले आयोजक टिम पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारलाई विजयी घोषणा गरेका थिए।

तर नमोबुद्ध युवा क्लबले रेफ्रीको निर्णय अस्वीकार गरेपछि उत्पन्न विवाद वडा नम्बर ३ को वडा कार्यालयसम्म पुगेको थियो। शुक्रबार दिनभर वडा अध्यक्ष सुकमान तामाङको रोहबरमा दुवै टिमबीच भएको छलफलपछि नमोबुद्ध युवा क्लबले अन्तिम समयमा गरेको गोललाई मान्यता दिने र खेल २–२ गोलको बराबरी मानी ट्राइब्रेकरमार्फत नतिजा निकाल्ने सहमति भएको थियो।

सोही सहमति अनुसार आज सम्पन्न ट्राइब्रेकरमा नमोबुद्ध युवा क्लब झाब्राहाले आयोजक पर्सागढी युवा स्पोर्ट्स क्लब बडनिहारलाई ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ।

नमोबुद्धको जितसँगै अब फाइनल खेल पर्साराइडर फुटबल क्लब खजुरिया र नमोबुद्ध युवा क्लब झाब्राहा बीच सोमबार दिउँसो २ बजे बडनिहार खेलमैदानमा हुने आयोजक टिमका सचिव हरि थापाले जानकारी दिएका छन्।